
काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसले चुरे दोहोन नीतिबाट तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गरेको छ ।
सभापति शेरबहादुर देउवाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै चुरे दोहन गरेर व्यापार घाटालाई न्यून गर्न खोज्नु भनेको खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताउनुभएको छ ।
सरकारले असंवैधानिक कदममार्फत ल्याएको बजेटमा चुरे दोहन हुने नीति अवलम्वन गर्नुलाई पार्टीले गम्भीर रूपले लिएको उहाँले बताउनुभयो ।
चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्दा पर्यावरणमा गम्भीर असर पर्ने अध्ययनले देखाए पनि गल्ती सच्याएर अघि बढ्नु पर्नेमा दोहन गर्न सरकारले प्रोत्साहन गर्नु प्रकृति विरूद्धको अपराध भएको उहाँले बताउनुभयो ।
सरकारले तराई मधेस क्षेत्रलाई मरुभूमिकरण षर्ने षड्यन्त्र गरेको उनको आरोप छ ।
‘देशले वर्सौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन,’ विज्ञप्तिमा भनिएको छ ‘अतः नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्