
पोखरा, जेठ १९ । गण्डकी प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले जेठ १७ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ ।
प्रतिपक्षी दलका सांसदले छलफलमा भाग लिए पनि सिद्धान्त र प्राथमिकतामाथि कुनै धारणा राखेका छैनन् ।
विश्वासको मत प्राप्त गर्न बाँकी रहेको अल्पमतको सरकारले बजेट ल्याउन नपाउने र सिद्धान्त तथा प्राथमिकताको पनि औचित्य नभएको भन्दै उनीहरु यस विषयमा प्रवेश नै गरेका छैनन् ।
बरु छिटोभन्दा छिटो यो सरकारले वैधानिकता लिनुपर्नेमा जोड दिएका छन् ।
सरकारको वैधानिकतामाथि प्रश्न उठाएकोमा सत्ता पक्षका सांसद भने आक्रोशित भएका छन् ।
बजेटको सिद्धान्त र प्राथमिकबारे कम बोलेर उनीहरुले सरकारको बचाउमा धेरै समय खर्चेका छन् ।
एमाले सांसद मनबहादुर गुरुङले नैतिकताकै प्रश्न उठाउने हो भने कार्यव्यवस्था परामर्श समितिमा रहेका विपक्षी दलका सांसदले राजीनामा दिएर आउन चुनौती दिनुभयो ।
गुरुङले बोलेर सकिएपछि सभामुख नेत्रनाथ अधिकारीले सदनमा बोलिएका विवादित विषयलाई रेकर्डबाट हटाइने भन्दै सांसादहरुलाई नियमावलीको अधिनमा रहेर बोल्न निर्देशन दिनुभयो ।
बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्