२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सत्ताकै लागि जसपा विभाजनको संघारमा


0
Shares

एलबी विश्वकर्मा
काठमाडौं, जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिशोधले एकता र प्रतिशोधकै सिकार बनेर जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ । सत्ताको दाउपेचले झण्डै दुई तिहाइको नेकपा विभाजित भयो । एमाले न विभाजन न एकताको दोसाँधमा उभिएको छ ।

मधेस आन्दोलनबाट स्थापित दलहरुको एकीकरणपछि जनता समाजवादी पार्टी (जसपा) संघीय संसदको तेस्रो शक्तिको रुपमा उदाएको थियो । तत्कालिन नेकपा सरकारमा मधेसका मुद्दा सम्बोधन गर्ने शर्तमा उपेन्द्र यादव त सरकारमै भए । तर माग सम्बोधनमा उदासिनता देखाएको भन्दै उनको दल सरकार छाडेर प्रतिपक्षमा बस्यो । सरकार छाडेकै सनकमा प्रधामन्त्री केपी शर्मा ओलीले २०७६ वैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि वैशाख १० गते राति मधेसकेन्द्रित दुई दलबीच एकता भयो र जसपा बन्यो । तर एकताको १३ महिनामै पुनः यो शक्ति दुई चिरामा विभाजित भएको छ ।

प्रधानमन्त्री ओलीले तत्कालिन नेकपाभित्रैबाट असहयोग हुन थालेपछि सत्ता जोगाउन मधेसकेन्द्रित दललाई अस्त्र बनाउने रणनीति अघि सारेर केही सांसदलाई आफ्नो पक्षमा समेत पारेका थिए ।

जसपा ओलीको प्रस्ताव अस्विकार गर्दै एककित्तामा उभिएपछि सत्ता समीकरणको टर्‍यो । अहिले जसपा ओलीलाई समर्थन गर्ने वा नगर्ने विषयलाई लिएर विभाजनको संघारमा छ ।

प्रतिनिधि सभा पुनः स्थापनापछि ओली पार्टीभित्र एक्लिने स्थिति बन्दै गयो । त्यही बेला सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी पूर्ववत अवस्थामै फर्किन बाध्य भए । त्यतिगर्दा पनि आफु बलियो हुने कुनै आधार नदेखिएपछि सत्ता जोगाउन ओलीले जसपालाई फुटको संघारमा पुर्‍याए ।

गत जेठ ४ मा ठाकुर र यादवबीच ८ बुँदे सहमति भयो । तर महन्थ–राजेन्द्र पक्षले सहमती तोडेर एकपक्षीय रुपमा राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेपछि द्वन्द्व बल्झियो । मधेशकेन्द्रित पार्टीको रुपमा चित्रित पार्टीहरु एकताले वैकल्पिक शक्तिको उदय भएको थियो । नेकपाको विभाजन र एमाले–माओबादीको पुनस्थापना जसपाका लागि अवसर बनेको थियो । उसले प्रधानमन्त्री पाउने बाटो पनि खुलेको थियो । तर ओली प्रवृत्तिको सिकार बनेपछि त्यो सपना तुहिएको छ ।

प्रतिशोधका कारण एकता र प्रतिशोधकै सिकार बनेर जसपा विभाजनको स्थितिमा पुगेको छ । मधेशका माग पूरा भयो भन्ने महन्थ र राजेन्द्र पक्षको बुझाइ र ओली प्रतिगमनकारी हुन भन्ने उपेन्द्र पक्षको आरोप अब मधेशमा कसरी स्थापित होला ? त्यसले नेपाली राजनीतिलाई अझै कही समयसम्म प्रभावित पार्ने देखिन्छ ।