१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कोरोनाका कारण सन् २०२२ सम्ममा विश्वभर बेरोजगारको संख्या २० करोड पुग्ने अनुमान


0
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले आगामी सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने बताएको छ ।

कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको आईएलओले जनाएको छ ।

आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ ।

जुन् संयुक्त राष्ट्रसंघद्धारा निर्धारित १ दशमल ९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।

सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ ।

न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उहाँले चेतावनी दिनुभयो ।

गरिब देशहरुमा जारी असमानताका कारण महिला र यूवाहरुको रोजगारीमा गम्भीर असर पर्ने आईएलओले जनाएको छ ।

गरिबी न्यूनिकरणका लागि विभिन्न उपाय अपनाएको देशहरुको प्रयासलाई पाँच वर्ष पछि धकेलेको पनि आइएलओको भनाइ छ ।

यता संयुक्त राष्ट्रसंघले माहामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ ।