
कपिलवस्तु, जेठ २० । शिवराज नगरपालिकामा १५ शय्याकाे अस्पताल निर्माणको लागि जग्गादाताहरु बढिरहेका छन् ।
केहि दिन अघि शिवराज नगरपालिका-२ क्षेत्रमा टिकाराम पाण्डे र शिवराज नगरपालिका-५ कुदरवेटवामा ईश्वरी पाण्डेले जग्गा प्रदान गर्ने भन्दै नगरपालिकामा प्रतिबद्धता पत्र बुझाएका थिए । नगरको बैठकले चन्द्रौटा क्षेत्रमा जग्गा प्राप्त भएमा छलफल गरी टुगाउने यदि नभएमा शिवराज २ मा अस्पताल निर्माण गर्ने जनाएको थियो ।
बुधबार शिवराज नगरपालिका ५ चन्द्रौटामा १० जनाले प्रतिव्यक्ति एक एक कठ्ठाका दरले १० कठ्ठा जग्गा अस्पताल निर्माण गर्न दिने भन्दै नगरपालिकामा पुगेका थिए । शिवराज नगरपालिकाको हालको कार्यालयदेखि झण्डै ६ सय मिटर दक्षिण पर्सिया क्षेत्रमा उनीहरुले जग्गा दिन इच्छुक रहेका छन् ।
अस्पताल निर्माणको लागि तीन स्थानमा जग्गा दिन जग्गादाता इच्छुक रहेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो ।कुन स्थान छनोट गर्ने भन्ने विषयमा छलफल भइरहेको अर्यालले बताउनुभयो । गरिबहरूलाई पायक पर्ने तरिकाले स्थान छनोट हुने उहाँले बताउनुभयो ।
शिवराज नगरपालिका कार्यालयको भवन निर्माणमा विवाद भइरहेको बेला फेरी अस्पताल निर्माणमा पनि विवाद नगर्न नगरवासीहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्