
काठमाडौं, जेठ २० । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
२०७४ को निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो ।
पार्टीको संसदीय दलले बिहीबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मन्त्रीका लागि काँग्रेसको तर्फबाट यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठको नाम सिफारिस गरेको छ ।
सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठको नाम सिफारिस गरेको छ ।
कांग्रेसले वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर उहाँको सत्ता जोगाएको थियो ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो ।
कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेबाट ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना छन् ।
कांग्रेस सत्तामा जान ढिलो हुँदा सरकारले प्रदेश सभाको बजेट अधिवेशन आहृवानको सिफारिस गर्नसमेत ढिलाइ गरेको थियो ।
हाल ३५ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्