२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस नेता रामहरि खतिवडाले गरे ओखलढुंगामा स्वास्थ्य सामग्री वितरण


0
Shares

ओखलढुंगा,जेठ २१ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आफ्नो गृहजिल्ला ओखलढुंगामा कोराना महामारीसँग जुध्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।

शुक्रबार ओखलढुंगाको सदरमुकाममा सबै स्थानीय तहका प्रतिनिधिहरुलाई कोरोना भाइरससँग जोगिन आवश्यक पर्ने सामग्री वितरण गरिएको हो ।

नेता खतिवडाका अनुसार ओखलढुंगाको ७५ वटै वडामा ७५ हजार सर्जिकल मास्क वितरण गरिएको छ । यसैगरी, सात वटा गाउँपालिका, एउटा नगरपालिकामा २ हजारको दरले १६ हजार तथा जिल्लास्थित सरकारी कार्यालयहरुका लागि पाँच हजार, जिल्ला जनस्वास्थ्य कार्यालय र मिशन अस्पतालका लागि पाँच हजार गरी जम्मा एक लाख थान मास्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, एन ९५ मास्क २ हजार, सेनिटाइजर ४५० लिटर, ह्याण्ड सेनिटाइजर १५० थान, पीपीई सेट १३८ थान र नेपाली सेनाका लागि शव डिस्पोजल ब्याग १० थान हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

साथमा विभिन्न औषधि, १५ सय थान साबुन पनि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सबै स्थानीय तहका लागि हस्तान्तरण गरिएको थियो ।

यस्तो संकटका बेला सुरक्षा सामग्री ल्याएर वितरण गरेकामा स्थानीय तहका प्रतिनिधि र जिल्लास्थित कार्यालयका प्रमुखहरुले आभार व्यक्त गरेका थिए ।

संकटको यस घडीमा अहोरात्र खट्ने स्वास्थ्य, सुरक्षा, सफाईकर्मीलगायत अग्रपंक्तिका राष्ट्रसेवकका कारण कोरोनालाई परास्त गर्न सकिने भन्दै नेता खतिवडाले आगामी दिनमा पनि जिल्लावासीका लागि निरन्तर सहयोग गरिराख्ने प्रतिवद्धता जनाउनुभयो ।