१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनवलमा २१ करोडको लागतमा शितभण्डार निर्माण हुँदै


0
Shares

हरि शर्मा
नवलपरासी, जेठ २१ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका– २ मा शितभण्डार निर्माण कार्य सुरु भएको छ ।

जिल्ला सहकारी संघले शितभण्डार निर्माण कार्य अघि बढाएको हो । शितभण्डार निर्माण कार्यमा जिल्लाका सबै स्थानीय तहहरुको सहभागिता रहने जनाइएको छ ।

पश्चिम नवलपरासी जिल्लाका कृषकहरुलाई लक्षित गरी सुनवल नगरपालिका– २ मा निर्माण सुरु गरिएको शितभण्डारको कुल लागत २१ करोड रुपैयाँ रहेको छ ।

अहिले शितभण्डारको निर्माण कार्य आधाभन्दा बढी सकिएको छ । शितभण्डार निर्माणपछि कृषकहरुका उत्पादित वस्तुहरुको संरक्षण, प्रसोधन, भण्डारण र बजारिकरणको व्यवस्था हुने छ भने शितभण्डारलाई प्रयोगशालाका रुपमा अघि बढाएर बिउ बिजनसमेत उत्पादन गर्ने लक्ष्य रहेको जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

३ हजार मेट्रिक टन क्षमताको शितभण्डार अत्याधुनिक प्रविधिसहितको रहने छ । शितभण्डार निर्माणका लागि नगरपालिकाले डेढ बिगाहा जग्गा उपलब्ध गराएको छ ।

शितभण्डारसम्म पुग्नका लागि नगरपालिकाले पहुँच मार्ग बनाउने योजना अघि सारेको सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापाले बताउनुभयो ।

निर्माणाधिन शितभण्डारको कुल लागतमध्ये ६० प्रतिशत रकम संघीय सरकारको हो । त्यसबापतको १२ करोड ६० लाख रुपैयाँ संघीय सरकारले पठाइ सकेको छ ।

अन्य ४० प्रतिशत रकम प्रदेश, स्थानीय सरकार र जिल्लामा रहेका सहकारी संस्थाहरुको रहेको छ ।

जिल्लाका सहकारीसहित सुनवल र रामग्राम नगरपालिकाले साढे ४ करोड जम्मा गरेपनि अन्य स्थानीय तहहरुले रकम जम्मा गरेका छैनन् ।

अझै ४ करोड अपुग छ । संघीय सरकारको योजना भन्दै प्रदेश सरकारले रकम नदिने जनाएपछि निर्माण कार्यमा समस्या भएको संघले जनाएको छ ।

२ वर्षभित्र सम्पन्न गर्नुपर्ने शितभण्डार निर्माणको काम कोरोना संक्रमणका कारण हुन नसकेपछि आगामी मंसिर मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

जिल्लाकै गौरवको योजनाका रुपमा हेरिएको यो शितभण्डार निर्माणपछि पश्चिम नवलपरासीको कृषि क्षेत्रले फड्को मार्ने विश्वास गरिएको छ ।