
अक्कल कुँवर
काठमाडौं, जेठ २१ । गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनले मुलुकको राजनीतिमा तिव्र ध्रुवीकरण ल्यायो ।
विघटनपछिको ध्रुवीकरण जारी रहँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि दलभित्रको आन्तरिक राजनीतिक समेत धु्रविकरण हुन पुगेको छ । दलभित्रको ध्रुवीकरण पार्टी विभाजनसम्मको अवस्थामा देखिएको छ । राजनीतिक विश्लेषकहरुले दोस्रो पटकको संसद विघटनपछि देखिएको राजनीतिक ध्रुवीकरण झन् बढ्दै जाने जिकिर गरेका छन् ।
प्रतिनिधिसभा विघटनसँगै मुलुकको राजनीति र दलभित्रको आन्तरिक राजनीति तिव्र ध्रुवीकरण भइरहेको छ । कतिपय दल र दलभित्रको समूह संसद विघटनको पक्षमा छ भने कतिपय दल र दलभित्रको समूह विघटनको विरुद्धमा । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल पक्ष आफ्नो दलका अध्यक्ष प्रधानमन्त्री ओलीले गरेको संसदविघटन बिरुद्ध राजनीतिक र कानुनी लडाईमा विपक्षी गठबन्धनसँग छ ।
प्रधानमन्त्री ओलीले गत बैशाख २७ गते संसदमा विश्वासको मत लिँदा तटस्थ बसेको नेपाल पक्षले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनमा विपक्षी दलका नेता शेरवहादुर देउवालाई समर्थन गर्यो ।
दल जनता समाजवादी पार्टी जसपाभित्रपनि पार्टी विभाजनको अवस्थामा पुग्नेसम्मको ध्रुवीकरण बनेको छ । जसपाभित्र महन्थ ठाकुर पक्षले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुका साथै अहिले पनि ओलीकै कित्तामा छ । यता, उपेन्द्र यादव पक्ष संसद विघटनबिरुद्ध कांग्रेस र माओवादी केन्द्र नेतृत्वको विपक्षी गठबन्धनसँग छ । राजनीतिक विश्लेषक राजेन्द्र महर्जन संसद विघटनको कदमबिरुद्ध ध्रुवीकरण हुन सही भएको जिकिर गर्नुहुन्छ ।
संसद विघटनले नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलन पनि प्रभावित बन्यो । सभापति देउवाको रुची विपरित गत चैत २१ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र देउवा नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गर्यो । तर, सभापति देउवाले रुची नदेखाउँदा यो पहल सफल हुन सकेन । तर, पछिल्लो पटकको संसद विघटनपछि पार्टीभित्रको दवावकै कारण सभापति देउवा ओलीबिरुद्धको गठबन्धनको नेतृत्व गरिरहेका छन् ।
अर्को राजनीतिक विश्लेषक मिनेश घिमिरे संसद विघटनपछि स्थायी प्रकृतिको गठबन्धन बन्ने सम्भावना देखिएको बताउनुहुन्छ ।
राजनीतिक दलहरुभित्रको आन्तरिक ध्रुवीकरणले मुलुकको लोकतन्त्र र संविधान थप कमजोर बनाउने त होइन भन्ने कतिपयको आशंका छ । तर, विश्लेषक महर्जन प्रतिगमनबिरुद्धको गठबन्धनले लोकतन्त्र र संविधान बचाउने जिकिर गर्नुहुन्छ ।
संसद विघटनपछि उत्पन्न ध्रुवीकरण र खिचातानीले मुलुक तथा आम नागरिकका जल्दाबल्दा समस्या र कोरोना महामारी रोकथाममा तथा नियन्त्रण ओझेलमा परेकोप्रति आमनागरिक चिन्तित देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्