२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एमालेमा एकताका लागि भेटिएला त ! मिलनविन्दु ?


0
Shares

काठमाडौं, जेठ २१ । नेकपा एमालेको एकता जोगाउनका लागि अनौपचारिक प्रयास जारी रहेकै बेला पार्टी अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मलोचना गर्नुपर्ने माधव पक्षको शर्तलाई अस्वीकार गर्नुभएको छ । फागुन २८ गतेका निर्णय खारेज र पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने बटम लाइनमा अडिग देखिएको माधव पक्षले नयाँ शर्त अघि सारेपछि ओलीले त्यसलाई अस्वीकार गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षधर आ–आफ्ना बटम लाइनबाट दायाँबायाँ हुन तयार भएका छैनन् । केही दिनयता दुई धारका शीर्ष तथा दोस्रो तहका नेताहरुबीच जारी वार्ता र दौडधूपले समेत मिलनविन्दु भेट्टाउन सकेको छैन । ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मलोचना गरेमात्रै एकता सम्भव हुने भन्दै नेपाल पक्षले नयाँ शर्त अघि सारेपछि ओली पक्षले अस्वीकार गरेको दाबी एमाले प्रमुख सचेतक विशाल भट्टराइले गर्नुभएको छ ।

अध्यक्ष ओलीले नेपाल पक्षका प्रमुख नेताहरुलाई कारबाही गर्न थालेपछि नेपाल पक्ष ओलीसँग कुनै पनि हालतमा सम्झौता गर्ने मनसायमा देखिदैन । तर पछिल्लो चरणमा संस्थापक पक्ष नेपाल पक्षका थप नेताहरुलाई तत्काल कारबाही नगर्ने निश्कर्षमा पुगेको छ । ओलीको रणनीतिक चाल बुझेका नेताहरु फागुन २८ का निर्णय खारेज र जेठ २ को पार्टी कमिटी क्रियाशिल गर्न प्रतिवद्धता ओलीले जनाए पार्टीमा सहकार्य हुने बताइएरहेका छन् ।

ओली पक्षले भने एमाले पुर्ववत अवस्थामा फर्किएरै निर्णयहरु गरिएको दाबी गरेको छ ।

राजनीतिक रुपमै दुई कित्तामा पुगिसकेका ओली र नेपाल पक्ष पार्टी एकताको नाममा एकअर्कोमाथि शर्तहरु थुपार्दै जानुले समय कटाउने र पार्टी विभाजनको अपजस खेप्नु नपरोस भन्ने दाउमा रहेको बुझ्न सकिन्छ ।