
काठमाडौं, जेठ २३ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु बेकार हुने ठहर गरेका छन् ।
नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट पारित प्रस्तावमा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएरै पनि वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
आफ्नो पक्षले राखेका माग निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी ओलीलाई विश्वास गर्न सकिने अन्यथा चालबाजीमा परिणत हुने शंका उनीहरुको छ ।
बैठकपछि सार्वजनिक गरिएको निर्णयमा भनिएको छ, ‘अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने स्पष्ट छ ।’
यस्तो स्थितिमा नेपालको संविधान, पार्टीको विधान, कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने चेतावनी दिँदै नेपाल पक्षले संगठनलाई वडा र टोलसम्म लैजाने निचोड निकालेको छ ।
निर्णयमा लेखिएको छ, ‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक् आह्वान गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस्