१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजेन्द्र महतोको अभिव्यक्तिप्रति अब के होला ?


0
Shares

अक्कल कुँवर
काठमाडौं, जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो ।

जसपाबाट नेतृत्व गर्दै पुनर्गठित मन्त्रिपरिषद्मा उपप्रधान तथा सहरी विकासमन्त्री बनेका राजेन्द्र महतो सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै राष्ट्रिय अखण्डताबिरुद्धको आफ्नै अभिव्यक्तिले विवादमा तानिएका छन् । महतोको अभिव्यक्तिको चौतर्फी आलोचना हुनुका साथै कारवाही गर्न आवाज उठिरहेको छ ।

शपथ ग्रहण सकिएलगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका महतोले शुक्रबार बहुल राष्ट्र राज्य स्थापना गर्ने पार्टीको एजेण्डा भएको र त्यसलाई अघि बढाउनकै लागि सरकारमा सहभागि भएको अभिव्यक्ति दिए ।

सपथ ग्रहण गरेर मन्त्रालयमा पदभार सम्हाल्ने बेला दिएको अभिव्यक्ति भोलीपल्ट शनिबार जसपा पार्टी कार्यालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा पनि दाहोर्‍याएका थिए ।

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति लगत्तै राष्ट्र विखण्डन गर्ने दिशामा केन्द्रित रहेको भन्दै चौतर्फी आलोचना भएको छ ।

संविधानको रक्षा गर्छु भनेर शपथ लिएको आधा घण्टाकैबीचमा राष्ट्र विभाजन गर्ने अभिव्यक्ति आउनु निन्दनीय भएको भन्दै राजनीतिक दलका नेता, बुद्धिजीवि र नागरिक समाजले महतोको अभिव्यक्ति संविधानको धारा ३ को व्यवस्था विरुद्ध रहेको टिप्पणी गरेका छन् ।

महतोको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल र सडकमा विरोध भएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने उपप्रधानमन्त्री महतोको अभिव्यक्ति राष्ट्रघाती, विखण्डनकारी भएको टिप्पणी गर्नुभयो ।

संविधान र राष्ट्रियताबिरुद्ध अभिव्यक्ति दिने उपप्रधानमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गरेर राज्य द्रोहको मुद्दा लगाउनुपर्ने जिकिर गर्नुहुन्छ वरिष्ठ अधिवक्ता न्यौपाने ।

त्यसो त राजेन्द्र महतो राष्ट्रियताका विषयमा पटक–पटक विवादमा पर्ने नेता हुन् । २०७२ सालमा जारी संविधान च्यात्ने, जलाउने र त्यहि समयमा भारतले लगाएको नाकाबन्दीको खुलेर समर्थन गरेको कारण महतोको निकै आलोचना भएको थियो ।

वरिष्ठ अभिवक्ता न्यौपाने उपप्रधानमन्त्रीमा महतोको नियुक्ति नै गैरसंवैधानिक भएको टिप्पणी गर्नुहुन्छ ।

सत्तारुढ दल नेकपाकै नेताहरुले महतोको अभिव्यक्तिको विषयमा प्रष्ट पार्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग माग गरेका छन् ।

उपप्रधानमन्त्री महतोले भने शनिवार राती नै विज्ञप्ती जारी गरेर राष्ट्र र राष्ट्रियताप्रति आफ्नो प्रतिबद्धता कायम रहेको भन्दै अभिव्यक्तिलाई बङ्ग्याएर गलत अर्थ लगाएको तर्क गरेका छन् ।

तर, कतिपयले महतोले जारी गरेको विज्ञप्तीप्रति नै प्रश्न उठाएका छन् ।