
काठमाडौं, जेठ २४ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी सुपर मार्केटलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिनुभएको हो ।
सरकारले केहीअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने भनिएको थियो ।
त्यही प्रावधानअनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको सीडीओ पराजुलीले जानकारी दिनुभयो ।
सोमबार दिउँसो काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुगेको थियो ।
त्यसक्रममा दिउँसो पनि भाटभटेनीले सामान विक्री गर्ने गरेको पाइएको थियो । स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो ।
उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको डीएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।
प्रशासनले जेठ मसान्तसम्म लागू हुने गरी निषेधको आदेश जारी गरेको छ ।
खाद्य सामग्री पाइने पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भनिएको छ ।
व्यक्तिले आदेशको उल्लंघन गरे एक लाख र संस्थाले गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्