१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चुरे क्षेत्रबाट एक डोको माटो र ढुंगा पनि ननिकाल्ने : अर्थमन्त्री पौडेल


0
Shares

काठमाडौं, जेठ २६ । ढुंगा, गिटी, बालुवा निकासी गर्दा चुरे क्षेत्रमा उत्खनन् नगर्ने सरकार र सरोकारवाला निकायहरुको एक मत भएको छ ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको हाकाहाकी बहसमा सरकार र सरोकारवाला निकायहरु चुरे क्षेत्रमा उत्खनन् नगर्ने विषयमा एक मत भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कान्छो पहाडको रुपमा चिनिने चुरे क्षेत्रको संरक्षणमा विशेष चासो बढीरहेको समयमा चुरेबाट एक डोको माटो र ढुंगा पनि ननिकाल्ने दावी गर्नुभयो ।

चुरेको संरक्षण नै सरकारको प्रमुख दायित्व भएकोले चुरेमा असर नगर्ने गरेर दुंगा, गिटी र बालुवाको निर्यात गर्ने कार्यक्रम ल्याइएको उहाँले भनाई थियो ।

‘खानीजन्य निर्यात गर्न मिल्ने कानुनी व्यवस्थालाई मध्यनजर गर्दै वातावरणीय प्रभाव र भौगर्भिक दृष्टिले उपयुक्त ठानिएका क्षेत्रबाट मात्रै उत्खनन् गरी निकासीको प्रबन्ध मिलाइने छ’ उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले अन्य मुलुकबाट सिक्दै वैज्ञानिक अध्ययनको आधारमा प्राकृतिक स्रोतलाई परिचालन गरेर बढीभन्दा बढी आम्दानी गर्न सकेमा मुलुकमा विकास हुने बताउनुभयो।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले चुरे संरक्षण सरकारको प्रमुख दायित्व रहेको बताउँदै अबका दिनमा विकास र संरक्षणलाई सँगसँगै अघि लगिने बताउनुभयो ।

चुरे क्षेत्रका अवस्थालाई मध्येनजरमा राखेर चुरेमा कुनै पनि गतिविधिहरु सञ्चालन गर्न नहुने पनि उहाँको भनाई थियो ।

चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले चुरेको संरक्षणमा कुनै सम्झौता नहुने बताउनुभयो ।

जैविक विविधता विज्ञ डा. तीर्थ बहादुर श्रेष्ठले पहाड खनेर ढुंगा निकाल्ने काम गर्नै नहुने बताउनुभयो ।

चुरे विज्ञ डा. विजयसिंह दनुवारले सिद्धबाबा डाँडा वा सरकारले नयाँ खानी क्षेत्रको रुपमा प्रस्ताव गरेका १४ जिल्लाका ९२ वटा खानी क्षेत्रले समेत चुरेलाई नै प्रभाव पार्ने दावी गर्नुभयो ।

पूर्व सचिव रामेश्वर खनालले दुंगा, गिटी र बालुवाको निर्यात गरेर व्यापार घाटा कम गर्न नसकिने दावी गर्नुभयो ।

तत्कालिन चुरे गुरुयोजना निर्माण कार्यदलका टिम लिडर डा. विनोद भट्टले चुरेमाथिको महाभारतबाट व्यवस्थित गरेर मात्र खनिज निकाल्नु पर्ने र सिद्धान्तको आधारमा मात्र नभएर व्यवहारिक पक्षलाई जोड दिनु पर्ने बताउनुभयो ।

भूगर्भविद् मेघराज धितालका वातावरणमैत्री विकास हुनु पर्नेमा जोड दिनुभयो ।

पत्रकार चन्द्रकिशोरले जथाभावी उत्खनन्ले चुरे विनास हुने र त्यसले अन्ततः तराईको बासिन्दालाई धेरै नै प्रभाव पार्ने बताउनुभयो ।