१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिकित्सा शिक्षामा खेलाँची नगर विवेकशील साझा पार्टीको आग्रह


0
Shares

काठमाडौं, जेठ २८ । चिकित्सा शिक्षामा खेलाँची नगर्न विवेकशील साझा पार्टीले आग्रह गरेको छ ।

मेडिकल शिक्षाका विकृतिहरू अन्त गर्न ल्याइएको चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै एक निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयासलाई पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै चिकित्सा शिक्षामा खेलाँची नगर्न आग्रह गरेको हो ।

स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोग माथि ठाडो हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग पदाधिकारीहरूलाई अवैध काम गर्न निरन्तर दबाब दिएको आरोप पार्टीले लगाएको छ ।

आयोग नै धराशायी हुने अवस्थामा पुगेको भन्ने समाचारहरूले स्तब्ध बनाएको पार्टीले जनाएको छ ।

प्रधानमन्त्रीको यो सम्भावित कदम निकै गम्भीर भएको भन्दै व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरूलाई धराशायी बनाउँदै जाने शृङ्खलाले कसैगरी थप निरन्तरता पाउनु हुँदैन विज्ञप्तिमा भनिएको छ ।

अन्यथा देश दण्डहीनता र अराजकताको थप शिकार बनी संस्थाहरू असफल मात्र होइन अन्ततः देशनै असफल हुने दिशामा जाने दावी पार्टीले गरेको छ ।

त्यसैले शुक्रबार हुने भनिएको चिकित्सा शिक्षा आयोगको बैठकमा उठ्ने सबै विषयमा विधि र प्रक्रियासम्मत तरिकाले मात्रै निर्णय गर्न प्रधानमन्त्री लगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण र खबरदारी समेत गराएको छ ।

मेडिकल शिक्षा सुधारका पक्षमा डा. गोविन्द केसीको अनवरत आन्दोलनमा समेत सरिक रहँदै भन्दै निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य राज्यको दायित्व हुनुपर्ने पार्टीको प्रमुख एजेन्डा भएको जनाएको छ ।