
काठमाडौं, जेठ २८ । नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौं महानगरपालिकाको सहयोगमा दोस्रो पटक श्रमिकहरुको नि:शुल्क पिसिआर र एन्टिजेन परिक्षण गरेको छ ।
युनियनले शुक्रबार आफ्नै केन्द्रीय कार्यालय अनामनगरमा एक सयभन्दा बढि श्रमिकहरुको नि:शुल्क कोरोना परिक्षण गरेको हो । गत बिहीबार पनि युनियनले एक सयभन्दा बढि श्रमिकको निशुल्क कोरोना परिक्षण गरेको थियो ।
ट्रेड युनियन कांग्रेसले गत वर्ष लकडाउन हुनुपुर्व र शुरु हुने बित्तिकै माक्स, सेनिटाइजर वितरण, श्रमिकहरुलाई कोरोनाबाट बचाउन विभिन्न सचेतना कार्यक्रम, गन्तव्यसम्म जाने श्रमिकहरुलाई यातायातको व्यवस्था, खाना खाजा खुवाउने र खाद्यान्न सामाग्री वितरण गरेको थियो ।
अहिले संक्रमण बढिरहँदा श्रमिकहरु प्रत्यक्ष प्रभावित रहेकोले युनियनको सामाजिक उत्तरदायित्व अन्तर्गत विषम परिस्थितिमा श्रमिकलाई केहि सहज बनाउन नि:शुल्क पिसिआर र एन्टिजेन परिक्षण गरेको ट्रेड युनियन कांग्रेसका प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिनुभयो ।
यसैगरी अनौपचारिक क्षेत्रका श्रमजीवीलाई तत्काल प्रभावकारी राहत प्याकेज, नि:शुल्क स्वास्थ्य उपचार र खोपको चाडो व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसले सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्