
काठमाडौं, जेठ २८ । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्दै सभामुख अग्नि सापकोटाले बोलाएको बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी अोलीले गराएको संसद विघटन, अदालतमा रहेको मुद्दा र पछिल्ला घटनाक्रममाथि विभिन्न राजनीतिक दलका नेताहरुले छलफल गरेका हुन् ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित बैठकमा संसदमा रहेका अरु राजनीतिक दलका नेताहरु सहभागि भएका थिए ।
एमालेका तर्फबाट भने असन्तुष्ट पक्षका नेता माधव नेपाल उपस्थित हुनुहुन्थ्यो । यसैगरी, बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी हुनुहुन्थ्यो ।
बैठकपछि पूर्वप्रधानमन्त्री भट्टराईले देशको संविधान र व्यवस्था नै विफल पार्ने गरी षडयन्त्र भइरहेको आरोप लगाउनुभयो ।
डा. भट्टराईले भन्नुभयो, ‘सरकारले चुनाव घोषणा गरेको छ । तर, चुनाव गर्ने यसको नियत छैन । चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी गर्दैन । सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्ततः संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो ।’
सर्वोच्चबाट प्रतिनिधि सभा पुनःस्थापना भए त्यो सबैभन्दा उपयुक्त निकास हुने डा. भट्टराईको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्