१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेशको नीति तथा कार्यक्रम सच्याउन सत्तापक्षकै सांसदको माग


0
Shares

bagmati

हेटौंडा, जेठ २८ । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सच्याउन सत्तापक्षसहित विपक्षी दलका सांसदले माग गरेका छन् ।

प्रदेश सभामा शुक्रबार भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद शालिकराम जमरकट्टेलले सरकारको नीति तथा कार्यक्रम शब्दजाल र नारामा सिमित भएको आरोप लगाउनुभयो ।

उहाँले सरकारले गौरवको आयोजनामा समावेश गरेको भीमफेदी–कुलेखानी सुरुङमार्गको कुनै औचित्य नभएको भन्दै सरकारले सुरुङमार्गको योजनालाई हटाउनुपर्ने माग गर्नुभयो ।

सांसद जमरकट्टेलले संघीय सरकारले सुरुङमार्ग बनाउन नेपाल पूर्वाधार विकास कम्पनीलाई दिएको अनुमति खारेज नभएको अवस्थामा प्रदेश सरकारले सुरुङमार्ग बनाउन कहाँबाट अनुमति लिएको हो भन्दै प्रश्न गर्नुभयो ।

त्यस्तै, सत्तारुढ दल नेकपा एमालेकै सांसदले नीति तथा कार्यक्रमप्रति असहमति जनाएका छन् ।

एमालेका प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा ‘बहुवर्षीय र क्रमागत योजनामा बजेट विनियोजन गरेपछि मात्र अन्य योजनालाई बजेट विनियोजन गर्ने’ भनिएको बुँदा हटाउनुपर्ने माग गर्नुभयो ।

यसैगरी नेपाली कांग्रेसका सांसद प्रभात तामाङले समग्र नीति तथा कार्यक्रम औचित्यहीन रहेको टिप्पणी गर्नुभयो ।

विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ल्याएको ‘प्रदेशका कानून सबैले जानुन भन्ने नारा हाँस्यास्पद रहेको बताउनुभयो ।