
अर्जुनमणि दीक्षित
एकादेशमा एउटा राजा थिए । उनी संगीतज्ञ भनेपछि हुरुक्कै हुन्थे । फुर्सतको समय पुरै नाचगानमा बिताउँथे । राजाको दरवारमा प्रत्येक बर्ष संगीत सम्मेलन हुने गर्दथ्यो । यो वर्ष पनि भयो ।
गत वर्षहरुको तुलनामा यो वर्षको संगीत सम्मेलन भव्य रह्यो । राजा अचाक्ली खुशी भए । हर्षविभोर भएर राजाले अर्थमन्त्रीलाई राजाको ढुकुटी खोल्न आदेश दिए । जसले ढुकुटीबाट जति नगद, सुनचाँदी र जुवाहरत लैजान चाहन्छन् लग्न दिनु भन्ने आदेश दिए ।
आदेश हुनासाथ सम्मेलनका सहभागीहरु तँछाडमँछाड गरेर ढुकुटीमा पसे । दायाँबायाँ केही नहेरी ढुकुटी भित्र बढीभन्दा बढी धन सोहोर्न मै उनीहरुको ध्यान रह्यो । लगाएको लुगाको खल्ती हिरा, मोती र जुवाहरतले भरियो । आफुले चाहेजति धन खल्तीमा नअटेपछि उनीहरु आ–आफ्ना बाजालाई नगद सुनचाँदी र जुवाहरत कोच्ने भाँडोको रुपमा प्रयोग गर्न थाले ।
यसैक्रममा सबैभन्दा पहिले हारमोनियम बजाउनेले आफ्नो हारमोनियमको की बोर्ड उप्कायो । यो देखेर तबलावादकले तवलाको पर्दा च्यात्यो, सितारवादकले तार चुडालेर सितार फुटाल्यो । एवं रितले जसरी हुन्छ हतार हतार बढीभन्दा बढी धन सम्पत्ति लुट्न मै सबै लागे ।
यहाँनिर मुरली बजाउने बिचरो बिलखबन्दमा पर्यो । मुरलीभित्र धन कोच्न खोजेको त थियो, तर कोच्नै सकेन । कोचेकै धन पनि मुरलीको प्वालबाट चुहियो, ओल्टाइपल्टाइ गर्यो फेरी पनि चुहियो । कसै गरेपनि मुरलीभित्र हिरामोतीको एउटा सानो दानासम्म पनी अटेन । मेरो कर्मै यस्तो भन्दै चित्त बुमmाएर मुरलीधर लुरुलुरु घर फर्कियो ।
सँधैझै अर्को वर्ष पनी संगीत सम्मेलन हुने भो । सबैले सम्मेलनमा सहभागी भै प्रस्तुतिको लागि निम्ता पाए । आ–आफ्ना वाद्य सामग्री बोकेर साबिकमा झै सबै सहभागि दरबारमा जम्मा भए । यो पटक उनीहरुले बोकेको सरसामानको आकार साबिकभन्दा निकै ठूला थिए ।
सितार दुई जनाले बोक्नु परेको थियो । हारमोनियमको आकार पियानोभन्दा ठूलो थियो । तबला दमाहा जत्रो थियो । एवं रीतले अन्य सामग्रीहरु पनि अनौठो देखिएका थिए । यसमध्ये मुरलीचाहीँ आफ्नै आकारमा जस्ताको तस्तै थियो । मुरलीधरले आफ्नो मुखमा अटाउने गरी मात्र मुरली बजाउनु पर्ने भएकाले मुरलीको बनोटमा परिवर्तन नभएको सबैले लख काटे ।
संगीत कार्यक्रम सुरु भयो स्वभावत त्यस्तो खालको वाद्य सामग्रीका कारण पुरै माहोल बेसुरा भयो । यसबीचमा मुरलीधर एक जना मात्र आँखा चिम्लेर आफैमा मस्त भै एकाग्र भएर सुरीलो भाकामा मुरलीको धुन प्रस्तुत गरिरहेको थियो । पछिल्लो लहरमा बसेको मुरलीधरले आफ्नो वरीपरी के भैराछ पत्तो पाएकै थिएन ।
यस्तो माहौलमा राजा चुप लागेर बस्ने कुरै आएन । उनी अति नै क्रूद्ध भए । ज जस्ले जे जे सामग्री ल्याएका छन् तीनै सामग्रीले पिट्दै लघार्दै यी सबैलाई दरवारबाट निकालिदीने भन्ने आदेश भो । आदेश बमोजिम सबै लखेटिए । कोही पिटीए । कोही पिटीन पाएनन् । तर मुरलीधरचाहिँ आफ्नै मुरलीबाट सुम्लो उठुञ्जेल पिटिए । के कारणले आफु पिटिएका हुन बिचरा मुरलीधरले थाहै पाएनन् ।
आज पनि मुरलीधरहरु मुरली बजाइरहेकै छन् । चारैतिरको कोलाहलले यिनको धुन सुनिएको छैन । तर पनि कसैले सुनोस नसुनोस्, राम्रो भनोस् कि नराम्रो भनोस् यिनले वास्ता राखेकै छैनन् । राज्यले पनि आ–आफ्नै पार्टीको डिएनएधारीलाई मात्र मान्छे गन्ने अहिलेको माहौलबाट मुरलीधरहरु बाहिरिएका छन् ।
अहिले पनि मुलुकमा इमान नडगमगाइकन बचेखुचेको सदाचारी कोही छन् भने हनुमानढोकाको कालभैरवले यिनलाई मात्र रोज्ने ठोकुवा गर्न किरिया खानै पर्दैन । त्यसैले हे परमेश्वर ! पछिल्लो लहरमा टाँसिएर बसेका मुरलीधरहरुलाई अघिल्लो पंक्तिमा स्थानान्तरण गरिदेउ । मुलुकले छिट्टै कलेवर फेर्छ ।
प्रतिक्रिया दिनुहोस्