
रोमन आचार्य
काठमाडौं, जेठ ३० । एकातिर कोरोना महामारी र जनस्वास्थ, अर्कोतिर पार्टीको १४ औं महाधिवेसन, कांग्रेस गर या मर स्थितीमा पुगेको छ । विधानसम्मत् पार्टीको १४ औं महाधिवेसन करिब डेढ वर्ष अघि नै सक्नुपर्ने कांग्रेसले कानूनी सिमा अर्थात् भदौं १९ भित्र महाधिवेसन गर्ला भन्ने अझै पनि भरपर्दो आधार छैन । कार्यतालिका संसोधन गरे पनि वैकल्पिक महाधिवेसनमा नगइ महाधिवेसन हुने आधार छैन ।
कांग्रेस महाधिवेसनको मेरुदण्ड क्रियाशील सदस्यता हो । भदौं १० भित्र सक्ने अन्तिम कानूनी अवसर पाएको कांग्रेसले क्रियाशील लफडाले महाधिवेसन कार्यतालिका संशोधन गर्नुपरेको छ । केन्द्रमा ९ दिन र तल्ला तहमा एक महिना महाधिवेसन पर धकेलिएको छ ।
क्रियाशील सदस्य छानविन समितिले हालसम्म १०१ स्थानबाट मात्र सदस्यता दर्ता भएको विवरण सार्वजनिक गरेको छ । बाँकी १०६ स्थानको सार्वजनिक भएको छैन । विवाद रहेका सिन्धुपाल्चोकमा बल्ल फारम पुगेको छ भने बारा तथा सप्तरीमा दर्ता प्रक्रिया प्रकृया शुरु भएको छैन । बर्दियामा लफडाको जटिलता उस्तै छ । सर्लाहीको विवाद साम्य भएको छैन । १० लाख सदस्यता पुर्याउने महत्वाकांक्षामा रहेको कांग्रेसभित्र ८ लाख भन्दा केही बढी मात्र सदस्यता इन्ट्री भएको बुझिएको छ ।
सदस्यतामा परेको उजुरीहरु उपर छानविन शुरु हुने छाँटकाँट छैन । संशोधित कार्यतालिका अनुसार असार २० गतेभित्र क्रियाशील सदस्यको सम्पूर्ण काम सकेर, २४ गते सभापति शेरवहादुर देउवाले हस्ताक्षर गरेर निर्वाचन समितिलाई बुझाउनुपर्ने हुन्छ । तर, रमेश लेखकको संयोजकत्वमा रहेको ५ सदस्यीय छानविन समितिले कस्तो मापदण्ड बनाएर काम अघि बढाउने भन्ने विषयमा बल्ल छलफल शुरु गरेको छ । त्यसैकारण, विकल्पमा छलफल नगर्ने हो भने कांग्रेसको भदौं १९ मा महाधिवेसन संभव छैन ।
कांग्रेसले कार्यतालिका संसोधन गरेर वडा तहको अधिवेसनलाई एक महिना पर धकेलेको छ । साउन ६ गते वडा अधिवेसन गर्ने तयारीमा पार्टी देखिन्छ । यस्तै ११ गते गाउँ/नगर अधिवेसन, १६ गते प्रदेश सभा क्षेत्रीय अधिवेसन, २० गते एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेसन तथा २४ गते एकभन्दा बढी निर्वाचन भएको जिल्ला अधिवेसन गर्ने तयारी छ । कांग्रेसले भदौं १ र २ गते प्रदेश तथा भदौं १९ गते केन्द्रीय अधिवेसन सक्ने तयारी गरेको छ । यसबारे असार ३ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने छ ।
जब भयो राती अनि बुढी ताती भन्ने उखान कांग्रेसको आन्तरिक जीवनमा मेल खान्छ । समय हुन्जेल सत्ताको तिकडमवाजीमा लागेका कांग्रीहरुले संशोधित मितिमा पनि महाधिवेसन गर्छन् भन्ने आधार नै छैन ।
कोरोना एउटा वाहाना हो, पदविहीन केही कांग्रेस नेता बाहेक वास्तवमा महाधिवेसनको उत्साहा पदपाएकाहरुमा छैन ।
प्रतिक्रिया दिनुहोस्