१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एम्नेष्टीद्वारा कोभिड रोकथामका लागि नेपाललाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान


0
Shares

amnesty international healthworker torture job loos USA Russia

काठमाडौं, जेठ ३१ । एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेकोमा ध्यानाकर्षण गराएको छ ।

एम्नेस्टी इन्टरनेशनलले गरेको एक अध्ययनसम्बन्धमा निकालिएको जानकारी पत्रमा कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नु परिरहेको कठिन अवस्थामा नागरिकको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले आफ्ना तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र जीवन बचाउने अरु वस्तुको आपूर्ति तत्कालै गर्न भनिएको छ ।

यस विषम अवस्थामा नेपालका राजनीतिज्ञले पनि आफ्ना मतभेदलाई थाँती राखी आगामी हप्तामा निर्णायक कदम चाल्न एम्नेस्टी इन्टरनेशनलले आह्वान गरेको छ ।

अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको अभावमा नेपालका स्वास्थ्य संरचना कोरोना भाइरसको सङ्क्रमणको भारले कमजोर बन्न पुगेका छन् भन्दै एम्नेस्टीले नेपालको न्यून स्रोत साधनयुक्त स्वास्थ्य प्रणालीमाथि कोरोना भाइरसले पारेको प्रभाव र औषधि तथा उपकरणको अभावका कारण अस्पतालका कर्मचारी र कोभिड–१९ का बिरामीले भोग्नुपरेको नतिजाको विश्लेषण पनि गरेको छ ।

दक्षिण एशियाका अन्य देश जस्तै नेपालले पनि खोपको अभावको सामना गरिरहेको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेशनलले कम र मध्यम आय भएका देशलाई खोपको पहुँचमा सहयोग गर्न अघि बढाइएको कोभ्याक्स कार्यक्रमले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको र धनी राष्ट्रले आफ्नो आवश्यकताभन्दा धेरै खोप सञ्चय गरिरहेको टिप्पणी गरेको छ ।

एम्नेस्टी इन्टरनेशनलका एशिया प्यासिफिक निर्देशक यमिनी मिश्रले खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि स्रोत साधन तथा प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।