
काठमाडौं, असार १ । विश्वविद्यालयका १२ जना पूर्व उपकुलपतिहरुले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन् ।
पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, महेश्वरमान श्रेष्ठ, जयराज अवस्थी, कमलकृष्ण जोशी, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले आज संयुक्त विज्ञप्ति जारी गर्दै आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको सुरक्षा गर्न सरकारसँग माग गरेका हुन् ।
‘डा. श्रीकृष्ण गिरीलाई सुरक्षा प्रदान गर्न र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधि अनुरुप काम गर्न दिन हामी पूर्वउपकुलपतिहरु सरकारसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर बीएण्डसीलाई सम्बन्धन दिन दबाब दिएको समाचारहरु बाहिरिएको थियो । कानुनी शासनको उपेक्षा गरेर झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिए दुर्भाग्यपूर्ण उनीहरुले बताएका छन् ।
पूर्व उपकुलपतिहरुले आयोगका उपाध्यक्ष डा. गिरीलाई धम्की दिइएको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै त्यसबाट हुने शारीरिक तथा मानसिक क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुने उनीहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्