
काठमाडौं, असार १ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ ।
मंगलबार बसेको सर्वोच्च बारको बैठकले घिमिरे र केसीलाई एमिकस क्युरी सिफारिस गरेको हो ।
जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई–दुई जना एमिकस क्युरी माग गरेको थियो ।
कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ ।
संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विपक्षी राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई कारण देखाऊ जारी गरेको छ ।
उनीहरुले असार ८ गतेभित्र लिखित जवाफ सर्वोच्चमा पेश गर्नुपर्नेछ । उक्त लिखित जवाफपछि असार ९ गतेदेखि संसद विघटनको मुद्दामा निरन्तर संवैधानिक इजलासमा सुनुवाइ हुने छ ।
प्रतिक्रिया दिनुहोस्