२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


युरो कपको इतिहासः सन् १९६० बाट शुरु भएको खेलको १६औं संस्करणमा फुटबलका हस्तीहरु भिड्दैं


0
Shares

euro cup 2021

काठमाडौं, असार २ । युरोपको महादेशीय फुटबल प्रतियोगिता युरोकपको १६ औँ सस्करण जारी छ । प्रतियोगिताका खेलहरु विभिन्न ११ देशमा भइरहेका छन् । प्रतियोगितामा युरोपका २४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । फुटबल प्रेमीहरुको पर्वको रुपमा मानिने युरोकपको इतिहास भने यस्तो छ ।

युरोकप फुटबलको सुरुवात सन् १९६० मा फ्रान्सबाट भएको हो । जसमा फाईनल चरणमा चार टोलीले मात्रै सहभागिता जनाएका थिए । छनौट चरणमा भने युरोपका १७ राष्ट्रको सहभागिता थियो । पहिलो संस्करणको युरो कपको फाइनलमा सोभियत युनियनले युगोस्लाभियालाई २–१ ले पराजित गरेको थियो ।

दोस्रो युरोकप स्पेनमा आयोजना भएको थियो । जसमा छनौट चरणमा सहभागि टिम संख्या बढाएर २९ पुर्‍याइएको थियो । उक्त प्रतिस्पर्धाको फाइनलमा आयोजक स्पेनले पूर्व विजेता सोभियत युनियनलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो संस्करणको युरो कपको उपाधि इटालीले जितेको थियो । सन् १९७२ मा आयोजनाको जिम्मा बेल्जियमले पायो । यसै प्रतियोगिताबाट जर्मनी एक पावर हाउसको रुपमा विश्व सामु चिनियो । जसले युरो मात्र जितेन, त्यसको दुई वर्षपछि आयोजना भएको विश्वकपको समेत उपाधि जित्यो ।

सन् १९७६ मा भएको फाइनल खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ आयोजक युगोस्लाभियाले वेस्ट जर्मनीलाई ५–३ ले पराजित गरेको थियो ।

चार चार वर्षमा आयोजना हुँदै आएको युरो कपको १९८० को संस्करणमा पहिलो पटक ८ टोलीले सहभागिता जनाएका थिए । जसमा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहको विजेताले फाइनलमा स्थान बनाउने थियो भने दोस्रो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु पर्ने नियम थियो । यस संस्करणमा वेस्ट जर्मनीले बेल्जियमलाई पराजित गर्दै दोस्रो पटक उपाधि जित्यो ।

त्यसपछिका तीन संस्करण पनि यहिं ढाँचामा आयोजना गरिए । जसमा क्रमशः फ्रान्स, नेदरल्यान्ड्स र डेनमार्क विजेता बनेको थियो । १९९६ देखि युरोकपमा १६ राष्ट्रले सहभागिता जनाउन थाले । वेस्ट जर्मनीबाट जर्मनीमा रुपान्तरीत टोलीले यस पटकको युरो उपाधि जितेको थियो ।

सन् २००० को युरोकप पहिलो पटक दुई राष्ट्र नेदरल्यान्ड्स र बेल्जियममा आयोजना भयो । १९९८ को विश्वकप विजेता टोली फ्रान्स नै यस युरोको च्याम्पियन बनेको थियो । इटालीसँग १–० ले पछि परेको अवस्थामा फ्रान्सले गोल गर्दै ९० मिनेटको समयमा खेल बराबरीमा ल्याएको थियो । त्यसपछि अतिरिक्त समयमा गोल्डेन गोल गर्दै फ्रान्सले उपाधि जितेको थियो ।

सन् २००४ को युरोकप आयोजना गरेको पोर्चुगल पहिलो पटक फाइनमा पुगेको थियो । तर, पोर्चुगलले उपाधि जित्न सकेन । फाइनल खेलमा ग्रिसले पोर्चुगललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

सन् २००८ मा स्विटजरल्याण्ड र अष्ट्रियाले संयुक्त रुपमा आयोजना गरेको युरोकपको उपाधि स्पेनले जित्यो । यसको २ वर्षपछि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप पनि स्पेनले उचाल्यो । त्यसपछि सन् २०१२ को युरोकप युक्रेन र पोल्याण्डले संयुक्त रुपले आयोजना गर्दा स्पेन फेरी च्याम्पियन बन्यो ।

सन् २०१६ मा फ्रान्समा आयोजना भएको युरोकपको फाईनलमा घरेलु टोलीलाई हराउँदै पोर्चुगल पहिलो पटक च्याम्पियन बन्यो । सन् २०२० मा हुनुपर्ने युरोकप फुटबल कोरोना महामारीको कारण एक वर्ष ढिला गरेर अहिले आयोजना गरिएको हो । यस पटक पनि फुटबलका हस्तीहरु उपाधि आफ्नो पक्षमा पार्न शुरुवाती खेलदेखि नै तीब्र प्रतिष्पर्धामा छन् । -एजेन्सीहरुको सहयोगमा ।