
बैतडी, असार २ । सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ ।
बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातीदेखि अवरुद्ध बनेको थियो ।
लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिवीको सहयताले बुधबार दिउँसो साढे २ बजेपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छ्याउन समस्या भएको थियोे । उहाँले भन्नुभयो,“ पानी पर्ने क्रम रोकिएपछि सडक विभागको स्काभेटर र जेसीबी लगाएर सडकमा खसेको पहिरो पन्छ्याइएको छ,अहिले सडक खुलेको छ”
बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौं, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० बढी सवारी साधन र १ सय बढी यात्रुहरु पहिरोका कारण रोकिएका थिए ।
अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि बिचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु आ आफ्नो गन्तव्यमा हिँडेका छन् ।
पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्