
काठमाडौं, असार २ । नेपालमा कोरोना भाइरसको संक्रमण अझै उल्लेख्यरुपमा घट्न सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ हजार ८ सय २८ जना संक्रमित थपिएको जनाएको छ ।
यो कूल परीक्षणको २३ दशमलव २ प्रतिशत हो । ८ हजार ६ सय ८७ पीसीआर परीक्षणबाट २ हजार १४ तथा ४ हजार ३ सय ३५ एन्टिजेनबाट ८ सय १४ गरी कूल १३ हजार २२ परीक्षणबाट २३ दशमलव २ प्रतिशतमा संक्रमण देखिएको हो ।
मन्त्रालयले परीक्षण गर्ने दर घट्दै गएको भन्दै लक्षण देखिएका भए र संक्रमितको समीपमा आएर कन्टयाक्ट ट्रेसिङमा परेको भए तत्काल परीक्षण गर्न आग्रह गरेको छ ।
थपिएकामा सबैभन्दा बढी गण्डकी प्रदेशमा परीक्षणको ३२ दशमलव १ प्रतिशतमा संक्रमण पाइएको छ ।
काठमाडौंमा ३ सय ५४, झापामा २ सय ३२, मोरङ्गमा १ सय ६५, सुनसरीमा १ सय ५१, बागलुङ्गमा एक सय १४, धादिङमा १ सय १३, त्यसैगरि भक्तपुर ७९ तथा ललितपुरमा ६६ जना थपिएका छन् ।
आज ५२ जनाको मृत्यु भएको छ भने ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ६२ हजार १ सय १७ रहेको छ । स्वास्थ्य मन्त्रालयले ४३ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ ।
गत वर्षको चैत २ देखि अहिलेसम्म परीक्षणको ३३ दशमलव २ प्रतिशतमा संक्रमण भएको जनाएको छ ।
कोरोनाबाट अहिलेसम्म ८ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म ५ लाख ४३ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्