
लमजुङ, असार २ । मनाङको सदरमुकाम चामेमा बाढी पहिरोबाट तीन सय परिवार विस्थापित भएका छन् ।
चामे बजारको घट्टेखोला, च्याट्टेखोलामा र मस्र्याङ्दी नदीमा बाढी आउँदा चामे बजार क्षेत्रका स्थानीय विस्थापित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।
बाढीले मनाङको तल्लो भेग नासों गाउँपालिकाको धारापानी क्षेत्रमा बढी क्षति पुर्याएको छ ।
आज बिहान आएको बाढीले पुल र भवनहरू बगाएको प्रशासनले जनाएको छ । प्रजिअ लामिछानेका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बाढीले बगाएको छ ।
यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं. ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटल बगेका छन् ।
बाढीपछि प्राइम कमर्सियल बैंकमा कार्यरत एक कर्मचारी सम्पर्कविहीन भएको र उनको खोजी भइरहेको बताइएको छ ।
मनाङको ङावलमा पहिरोले मस्र्याङ्दी नदी थुनिएको छ । आज बिहानै पहिरो झरेर नदी थुनिएको हो ।
नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको छ ।
केही दिनयता निरन्तर परेको पानीले चामे बजारको घट्टेखोला र च्याट्टेखोलामा आएको बाढीले बजारका ६ घर बगाएको थियो ।
चामे र तालगाउँका बाढी पहिरो पीडितलाई राहत र उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर ल्याउन तयारी अवस्थामा रहे पनि मौसम खराब भएकाले जान सकेको छैन् ।
चामेका करिब ६० घर र तालगाउँका ४८ घरधुरी डुबानमा परेका छन् । बाढीले विद्युतीय संरचना बगाउँदा मनाङको सबैतिर सम्पर्कविच्छेद भएको छ ।
स्थानीयको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्