
काठमाडौं, असार २ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोग्रस्त मेलम्ची पुगेर स्थलगत अवलोकन गर्नुभएको छ ।
मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसँग जानकारी निलुभएको थियो ।
मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताउनुभयो ।
उहाँले उद्दार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्दार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनर्स्थापनाको काम अघि बढाउन सबैमा अपिल गर्नुभयो ।
नगरपालिकामा भएको सर्बपक्षिय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस्