१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चीनसँग खोप किन्ने प्रक्रिया तत्काल थाल्ने र नेपाली कामदार रहेका देशमा नियमित उडान शुरु गर्ने सीसीएमसीको निर्णय


0
Shares

CCMC meeting 3rd asar 2078

काठमाडौं, असार ३ । सरकारले चीनसँग कोरोना भाइरसविरुद्धको खोप किन्न प्रक्रिया तत्काल थाल्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सरकारको घोषणा अनुसार चीनबाट ४० लाख मात्रा खोप किन्ने प्रक्रिया तत्काल थालिने निर्णय गरेको हो ।

जुनभित्रै दश लाख मात्रा खोप ल्याउने गरी प्रक्रिया थालिने केन्द्रका प्रमुख बालानन्द शर्माले जनाउनु भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले चीनको सिनोफार्म कम्पनीबाट खोप खरिद गर्ने निर्णय गरेको थियो ।

अब खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया थाल्ने छ भने त्यसका मापदण्डहरु के हुने भन्ने पनि खरिदका क्रममा टुग्गो लाग्ने शर्माले जानकारी दिनुभयो ।

यसैगरी, सीसीएमसीले नेपाली कामदार रहेका देशहरुमा नियमित उडान शुरु गर्ने निर्णय पनि गरेको छ । मध्यपूर्वका देशका साथै जापान र कोरियामा नियमित उडान थाल्ने निर्णय गरेको केन्द्रका प्रमुख शर्माले जानकारी दिनुभयो ।

हप्तामा दुई हजार मानिस नेपाल ल्याउन अनुमति दिने तर त्यसमा १५ सयजना नेपाली कामदार हुनै पर्ने व्यवस्था गरिने छ । आफ्नो खर्चमा आउन नसक्ने नेपाली कामदारलाई भने राज्यको खर्चमा ल्याइने व्यवस्था गर्ने निर्णय पनि गरिएको शर्माको भनाइ छ ।

हाल कतारका लागि सातामा दुई, टर्कीमा एक उडान भइरहेको छ भने चीनसँग सातामा एउटा उडान गर्ने भनिए पनि हुन सकेको छैन ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालले वैशाख २३ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान रोकेको थियो ।