
काठमाडौं, असार ३ । दलित भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध पत्रकार रुपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् ।
जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध पत्रकार सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार विहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।
घरधनी प्रधानले आफूलाई सानो जातको भन्दै डेरा भाडामा नदिएको पीडित सुनारको गुनासो छ ।
उनका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् ।
दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।
जातीय विभेदको मुद्धा भएका कारण प्रहरीले सजिलै मुद्धा गर्न नमानेको सुनारले बताइन् । ‘हामी १२ बजे प्रहरीकहाँ पुग्यौँ । जाहेरीको ढाँचामा आवश्यक कागजात सहित गएका हौँ । तर प्रहरीले उजुरी दर्ता गर्नै मानेनँ,’ सुनार भन्छिन्, ‘म एउटा पत्रकार हुँदा हुदै त प्रहरीले उजुरी लिदैन भने आममानिसले कसरी न्यायको अपेक्षा गर्ने रु’ दिनभर प्रहरी कार्यालयमा धर्ना दिएपछि साँझमात्रै प्रहरीले उजुरी दर्ता गरेको उनले बताइन् । ‘‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भएँ । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ जाहेरी दर्तापछि सुनारले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
मंगलबार कोठा खोज्न घरधनी प्रधानकहाँ पुगेकी सुनारलाई कोठामा बस्ने पक्का पक्की भएपछि जातमा पुगेर अड्किएको थियो ।
घरधनीले जातकै कारण कोठा दिन नसक्ने पछि टेलिफोनमा बताएकी थिइन् । घटनापछि आफुमाथि विभेद भएकोबारे पत्रकार सुनारले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्