
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ ।
उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले शुक्रबारको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिनुभयो ।
बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
‘उपमेयरले नीति–तथा कार्यक्रम अध्ययन गर्न दुई दिनको समय माग गर्नुभयो । त्यहि अनुसार आज बैठक बसेर आइतबार नीति–तथा कार्यक्रममाथिको छलफल गर्ने गरी नवौँ अधिवेशन स्थगन गरिएको छ ।’ शाक्यले भन्नुभयो ।
प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर कांग्रेसका तर्फका जनप्रतिनिधिसँग छलफल गरेको पनि स्मरण गराउनुभयो । ‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सर्वसहमतिले नीति–कार्यक्रम र बजेट पारित गर्ने गरी अघि बढ्छौँ,’ उहाँले भन्नुभयो ।
‘विगतका वर्षमा पनि हामी सर्वसहमतिमा अघि बढेको छौँ । मलाई विश्वास छ । यो वर्ष पनि त्यस्तै हुन्छ । नीति–तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर जान पाए राम्रो भन्ने उहाँहरुको सझुावलाई सारकात्मक रुपमा लिएको छु ।’ भन्नुभयो ।
बजेट पेस गर्ने उपमेयरले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु । बजेट तर्जुमा समितिको संयोजक नै उपमेयर हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु, शाक्यले भन्नुभयो, ‘ हामी १० गते बजेट पेश गर्छौ । त्यसपछि पनि लामो समय व्यापक छलफल गरेर बजेट पास गर्छौ ।’ भन्नुभयो ।
शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको नि:शुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्