
काठमाडौं, असार ४ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो ।
संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ । यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने संशोधित निर्वाचन कार्यतालिका अनुमोदन गरेको हो ।
बैठकले असार मसान्तभित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउन क्रियाशिल सदस्यता छानविन समितिलाई निर्देशन दिएको छ ।
यसअघिको असार ५ मा वडा, ७ मा गाउँनगर, साउन १ मा प्रदेशसभा क्षेत्रीय, ३ मा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ मा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन कार्यतालिका रहेको थियो । यसअघिको निर्वाचन कार्यतालिकामा साउन १० र ११ गते प्रदेश अधिवेशन र भदौ ७ देखि १० गते केन्द्रीय महाधिवेशन गर्ने रहेको थियो ।
तर, क्रियाशिल सदस्यता टुङ्गो लगाउन नसकेपछि कार्यतालिका परिमार्जन गरेको हो । यसैबीच, केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधान पक्षधर अन्य शक्तिलाई पनि आफु नेतृत्वको गठबन्धनमा सहभागी गराउने निर्णय गरेको छ ।
प्रतिनिधिसभा विघटनबिरुद्धको कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष सहभागि छन् ।
प्रतिक्रिया दिनुहोस्