
खिलनाथ ताजपुरिया
काठमाडौं, असार ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटीको बैठक राख्न गरेको पहल सार्थक बन्न सकेको छैन ।
यसबीच नेपाल–खनाल पक्षले छुट्टै स्थायी कमिटी बैठक आयोजना गरेर ओली योजनालाई घुमाउरो पाराले अस्वीकार गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट गठित महाधिवेशन आयोजक कमिटी खारेज गरी पार्टीलाई नवौं महाधिवेशनको अवस्थामा पुर्याउन सर्वोच्च अदालतबाट आदेश भएसँगै संस्थापन पक्ष दवावमा परेको छ ।
ओलीले असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित पार्टीको तत्कालिन स्थायी कमिटी बैठक राख्ने योजना अगाडि सार्नुभयो । तर, आजसम्म न स्थायी कमिटी बैठक बस्न सकेको छ, न त बैठकको तिथिमिति नै जुरेको छ ।
यसरी बैठक बस्न नसक्नुको चुरो कुरो भने ओलीले मनोनीत गरेका स्थायी कमिटी सदस्यहरूलाई मान्यता दिने कि नदिने भन्ने रहेको बुझिएको छ । ओलीले मनोनीतलाई बैठकमा राख्न चाहेको र माधव–झलनाथ त्यसो गर्न नचाहेकाले संयुक्त बैठक अनिश्चित बताइन्छ । माओवादीबाट एमालेमा आएका नेताहरुलाई मिलाएर जानु पर्ने स्थिति रहेको ओली निकट नेता विशाल भट्टराई बताउनुहुन्छ ।
तर, ओली निकटस्थहरु माधव पक्ष एकतामा आउनुको विकल्प नरहेको बुझाइमा रहेको छ । दुवै पक्षको चित्त बुझ्ने विकल्प फेला नपर्दासम्म एकले अर्कोलाई थकाउने र गलाउने चलिरहने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्