
पोखरा, कात्तिक २८ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन् ।
यसक्रममा फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ ।
उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ ।
त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद पोखरा गएका हुन् । उनी काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेका हुन् ।
उनलाई त्यहा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्