२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


केन्द्रीय समिति विस्तार गर्ने तयारीमा माओवादी केन्द्र


0
Shares

काठमाडौं, असार ६ । नेकपा माओवादी केन्द्रले पार्टी पुनर्गठन गर्ने भएपछि केन्द्रीय समिति विस्तार गर्ने भएको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन एमाले र माओवादी ब्युँताएपछि माओवादी पुनर्गठन गर्ने क्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्‍याउन लागेको हो ।

तत्कालीन नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना थिए ।

एमाले माओवादी ब्युँतिएपछि माओवादीले २ सय ९९ जना केन्द्रीय कमिटी बनाउन लागेको हो ।

माओवादीका २ सय केन्द्रीय सदस्य मध्ये १८ जना एमाले प्रवेश गरेकाले त्यसलाई समेत थप गरेर केन्द्रीय कमिटी थप गर्न लागेको माओवादीले जनाएको छ ।

माओवादीले समावेशी सहितको जुझारु नयाँ केन्द्रीय समिति बनाउन प्रदेश र जिल्ला कमिटीलाई नाम पठाउन निर्देशन दिएको छ ।

नयाँ थपिने १ सय १७ जना केन्द्रीय सदस्य जनजाति, मधेसी, दलित, मुस्लिम अल्पसंख्यकलगायत सबै समुदायको समेटिने गरी नाम पठाउन भनिएको छ ।