२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस सभापतिमा आकांक्षी निधिले भने–‘यस पटक सघाउनुस् पन्ध्रौं महाधिवेशनमा गगनहरु नेतृत्वमा आउनुपर्छ’


0
Shares

bimlendra nidhi-congress

काठमाडौं, असार ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएका कांग्रेस उपसभापति बिमलेन्द्र निधिले सक्रियता बढाउनुभएको छ ।

आफै अर्को एक कार्यकाल सभापति बन्ने भन्दै शेरबहादुर देउवाले आफूनिकटका केन्द्रीय सदस्यलाई सहयोग गर्न निरन्तर बैठक गरिरहनुभएका बेला निधिले पनि समानान्तर बैठक थाल्नु भएको हो ।

सोमबार पार्टीभित्रको प्रभावी र सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निवासमै भेटवार्ता गर्नुभएका निधिले युवा नेताहरुसँग पनि भेट गर्नुभएको छ ।

पार्टीमा नेतृत्व हस्तान्तरणका लागि दबाब बढाइरहेका र दोस्रो तहका नेताले आँट नगरे आफूहरु मध्येबाटै सभापतिको चुनौती ब्यहोर्न चेतावनी दिइरहेका प्रभावशाली युवा नेताहरूसँग निधिले सोमबार नै छलफल गर्नुभएको हो ।

युवा नेताहरु गुरूराज घिमिरे, धनराज गुरूङ, चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, जीवन परियार, दीपक गिरी, सरिता प्रसाईं, प्रदीप पौडेललगायतसँग उपसभापति निधिले आसन्न महाधिवेशन र आफ्नो उम्मेदवारीका विषयमा छलफल गर्नुभएको हो ।

युवा नेताहरूले भने निधिलाई सभापतिमा उम्मेदवारीको विषय चर्चाका लागि मात्रै हो कि पछिसम्म टिक्ने गरी आएको हो भन्ने प्रश्न गरेका थिए । निधिले आफू पछाडी नफर्कने भन्दै सघाउन युवा नेताहरुसँग आग्रह गर्नुभएको थियो ।

युवा नेताहरुसँग निधिले आफू एक पटकका लागि उम्मेदवार बन्ने भएकाले सघाउन आग्रह गर्दै भन्नुभयो, ‘यस पटक सघाउनुस्, १५ औं महाधिवेशनमा त गगनहरुको पुस्ता आउनुपर्छ ।’

युवा नेताहरुले पनि अघिल्लो पटक उम्मेदवार रहेकाहरुलाई नसघाउने भन्दै तीन नेता मिलेर उम्मेदवारी दिन सके राम्रो, नभए पनि प्रतिष्पर्धा गर्नुस्, हामी सघाउँछौं भनेका थिए ।

गत शनिबार सभापति देउवाले आफूलाई सघाउन आग्रह गरेकामा निधिले, ७७ सालको साउन २९ गते एक्लै भेटेर आगामी कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिने बताएको र १३ औं महाधिवेशनमै पनि १४ औंमा आफू उम्मेदवार हुने गरी साथ दिएकोबारेमा स्मरण गराउनुभएको थियो ।

तर देउवाले आफै उम्मेदवार बन्ने भन्दै नसघाउने बताएपछि निधि नयाँ रणनीतिका साथ अगाडी आउनुभएको हो । निधिले यसअघि यही २ गते अर्का नेता कृष्ण सिटौलासँग भेटेर सभापतिमा आफ्नो उम्मेदवारी रहने जानकारी दिनुभएको थियो ।

निधिनिकट स्रोतका अनुसार अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसीसँग पनि निधिले आजभोलि नै भेटेर छलफल गर्दै हुनुहुन्छ ।