
काठमाडौं, असार ९ । लगातारको गिरावटपछि मंगलबार उच्च अंकले बढेको नेप्से बुधबार फेरि उच्च अंकले घट्न पुगेको छ ।
बुधबार नेप्से परिसूचक ५३.८८ अंकले घटेको हो । योसँगै नेप्से २८५९.९६ विन्दुमा झरेको छ ।
मंगलबार नेप्से परिसूचक ७९.४३ अंकले बढेको थियो । त्यसअघि आइतबार र सोमबार नेप्से ६३.११ र ७१.०६ अंकले घटेका थिए ।
नेपाल धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो ।
बुधबार कारोबार रकम पनि करिब साढे आठ अर्बमा खुम्चिएको छ । नेप्सेमा बुधबार आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कूल २१८ वटा कम्पनीका एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ९१ हजार ७५ पटक खरिद(बिक्री भएका थिए ।
बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.५३ अंकले घटेर ५२८.३४ विन्दुमा कायम भएको छ ।
बुधबार राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.७१ प्रतिशतका दरले कमाएका छन् । कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.६० प्रतिशतका दरले गुमाएका छन् ।
बुधबार नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै ५४ करोड ३० लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्ड सबैभन्दा धेरै १३ लाख १६ हजार ५१५ कित्ता र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीका सेयर सबैभन्दा धेरै तीन हजार ७९७ पटक किनबेच भएका थिए ।
प्रतिक्रिया दिनुहोस्