२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बहुमत सदस्यको बहिस्कारपछि ललितपुर महानगरको बजेट रोकियो


0
Shares

काठमाडौं, असार १० । बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेट रोकिएको छ ।

बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेछ प्रस्तुत हुन नसकेको नगरपालिकाले जनाएको छ ।

अब तीन दिनपछि फेरि नगरसभा बस्नेछ । यदि तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभएमा फेरि दुई दिनपछि अर्को सभा बोलाउने नगरपालिकाले जनाएको छ ।

सो नगरसभा बैठकमा बहुमत सदस्य उपस्थित नभए एक तिहाइ सदस्यको हस्ताक्षर जुटाएर विशेष सभा आह्वान गर्ने महानगरपालिकाको योजना छ ।

बुधबार नगरसभामा रहेका ९२ सदस्यमध्ये ६६ जनाले बैठक बहिस्कार गरेका थिए ।

बहिस्कार गर्नेहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । आफूहरुसँग नीति तथा कार्यक्रम र बजेटबारे छलफल नगरिएको भन्दै बहुमत नगरसभा सदस्यले असन्तुष्टि जनाउँदै आएका थिए ।

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल कांग्रेसबाट निर्वाचित भएका हुन् ।

मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित भएपनि नगरसभा र नगर कार्यपालिकामा उनीहरु अल्पमतमा छन् ।