
काठमाडौं, असार ११ । गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताउनुभएको छ ।
शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताउनुभएको छ ।
उहाँले आफुसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभयो । संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री पौडेलले नतिजामुखि काम आफुले खोजेको पनि बताउनुभयो ।
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरीपनि आफुकहाँ नआउनको लागि निर्देशन गर्नुभयो । आफु मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उहाँले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताउनुभयो ।
उहाँले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्ननहुने पनि बताउनुभयो । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्नपनि उहाँले निर्देशन दिनुभयो ।
मन्त्री पौडेलले आफु मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताउनुभयो ।
उहाँले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न पनि निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्