
काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायलयले निर्णय गर्नुपुर्व नै सोबारे चर्चा गरिनुले शंका उब्जाएको जिकिर गर्नुभयो ।
उहाँले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफनै कामले प्रमाणित गर्नुपर्ने भन्दै त्यसअघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो देशभक्तिप्रति सन्देह गर्नेहरु नै नेपालको राजनीतिमा विदेशीहरुको भूमिका चाहिरहेको दाबी गर्नुभयो । एक पूर्वप्रधानमन्त्रीले विदेशी टेलिभिजनलाई दिएको अभिव्यक्ति उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खुलमखुला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरुले नै आफुलाई आडम्बरी देशक्ति भनी टिप्पणी गर्ने गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानकाविरुद्ध अराजकता ल्याउन खोज्नेसँग जुध्न महन्थ ठाकुरलाई साथमा लिएको भन्दै अरुले ठाकुरलाई प्रधानमन्त्री बन्न भने पनि आफुले उहाँलाई नेतृत्व गर्न नभनेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टीका टिप्पणी गर्न सक्रिय भएको उल्लेख गर्दै गणतन्त्रप्रतिको गैह्भाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क गर्नुभयो ।
नेपालको भूभाग समेटिएर छापिएको चुच्चे नक्सालाई अब कसैले पनि मेटाउन नसक्ने भन्दै उहाँले एउटा लयमा नेपालको विदेश नीति अघि बढिसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्