
रोमन आचार्य
काठमाडौंं, असार ११ । गुटैगुटले अस्तव्यस्त भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चित भएसँगै परम्परागत गुटहरु भत्कने क्रम सुरु भएको छ । यो सँगै नयाँनयाँ गुटहरु जन्मने संभावना देखिएको छ । अहिले गुटविहीन कांग्रेस बनाउने भनेर केही नेताले थालेको कदमले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको पार्टी सभापति बन्ने चाहनामा धम्का पुग्ने देखिएको छ ।
१४ औं महाधिवेशनको मिति तय भएसँगै नेताहरुबीच गुट भत्काउने, बनाउने र एक गुटले अर्को गुटका मानिस चोर्ने खेल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गुटका खम्बा मानिएका उपसभापति विमलेन्द्र निधिले चटक्कै देउवा गुट छोडेका छन् ।
निधिले देउवालाई सभापतिको दौडबाट रोक्न नयाँ कार्डको प्रयोग गर्दै महामानव वीपी कोइरालाका सुपुत्र तथा पार्टी महामन्त्री शशांक कोइराला र लौहपुरुष गणेशमान सिंहका सुपुत्र तथा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहसँग मोर्चाबन्दीको प्रयास गरेका छन् ।
यो मोर्चाबन्दीले देउवा गुटबाट निधिमात्र बाहिरिएको देखिन्छ भने वरिष्ठ नेता पौडेल गुटका दुई हस्ती कोइराला र सिंह बाहिरिने सम्भावना देखिन्छ । नयाँ मोर्चाबन्दीले पौडेललाई सबै भन्दा बढी बेसहारा बनाएको टिप्पणी कांग्रेसजनमा हुन थालेको छ ।
तर के कांग्रेसका तीन संस्थापक नेताहरुका पुत्रहरुको टीम बन्न सक्छ त? त्यो त्यति सहज छैन किनकी उनीहरु तिनै जना कांग्रेसको भावी सभापतिको दौडमा छन् । तर, एकै टिम बनाउने उद्देश्य भने देखिन्छ ।
तीन नेताबीच वरिष्ठतालगायतका विषय टुंगिन बाँकी छ । जब बरिष्ठताको सबाल आउँछ तब एकले अर्कोलाई नमान्ने परिस्थिति बन्न सक्छ । तसर्थ तीन नेताको मोर्चाबन्दी शक्ति बाँडफाँडमा गएर भत्किन सक्छ ।
तीन नेताको मोर्चा भत्काउन अन्य नेताहरुले चलखेल नगर्ने कुरै छैन । सभापति हुन्छु भनेर कम्मर कसेका डा. शेखर कोइरालादेखि डा. रामशरण महत, अर्जुननरसिंह केसी, कल्याण गुरुङ पनि सभापति आकाक्षी हुँ भनिरहेका छन् । यसले सबै भन्दा ठुलो पहिरो पौडेल गुटमै जाने देखिँदैछ । तर, देउवालाई पनि घेराबन्दीमा पार्ने सम्भावना देखिँदैछ ।
देउवाले नेतृत्व गरेको कांग्रेसको पहिलो र पौडेलले नेतृत्व गरेको दोस्रो गुटमा हलचल भएसँगै नेता कृष्णप्रसाद सिटौलाको गुट पनि छिन्नभिन्न हुने देखिँदैछ । १३ औं महाधिवेशनमा सिटौलाको गुटबाट महामन्त्रीका उम्मेदवार गगन थापाले नै त्यो गुट छोडिसकेको देखिन्छ । सिटौला निकटस्थहरु अहिले डा. शेखरसँग निकट रहेको पाइन्छ ।
यी र यस्ता अनेक कारणले कांग्रेसको १४औं महाधिवेशन रोमाञ्चक हुने त छँदैछ । परम्परागत गुटहरुमा जान सक्ने पहिरो र महाधिवेशनमा कुन पक्ष बलियो हुन्छ भनेर अनुमानै गर्न नसकिने परिस्थिति त अझ रोचक हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्