४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

लुम्बिनी न्यूज फेस्टिबल २०७६ सुरु


0
Shares

भैरहवा, मंसिर १ । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु भएको छ ।

“संघीयतामा सञ्चार,समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने नाराका साथ सुरु भएको तीन दिने महोत्सवमा मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३ सय पत्रकारहरुको सहभागिता रहेको छ ।

‘पत्रकारिता ःचुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नु पर्ने बाध्यता रहेको भन्दै सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको बताए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका बारेमा काउन्सिलमा बढी उजुरी आएको बताए ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने धारणा राखे । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु विष्णु निष्ठुरी, शिव गाउँलेले लुकेका र लुकाएका कुराहरुमाफर्त सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने भएपनि दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समस्या आएको दुखेसो पोखेका थिए ।