
दिपेन्द्र अधिकारी
काठमाडौं, असार १३ । तीन लाख शिक्षक तथा प्राध्यापकलाई कोरोना खोपको आवश्यकता छ । खोप नलगाएसम्म कक्षा कोठामा प्रवेश नगर्ने अडानमा शिक्षकहरु छन् भने प्राध्यापकहरुले आफूहरु उपेक्षामा परेको गुनासो गरेका छन् । शिक्षा मन्त्रालयले खोपका लागि स्वास्थ्य मन्त्रालयसँग पत्रचार गरेको छ । अहिले शिक्षा र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मन्त्री कृष्णगोपाल श्रेष्ठले सम्हाल्नु भएकाले उहाँ माथि खोप उपलब्ध गराउने दबाब पनि छ ।
यथाशीघ्र खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई चर्को दबाब छ । फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ५५ देखि ६५ बर्षका साढे १३ लाख व्यक्तिलाई दोस्रो डोज खोप उपलब्ध गराउन नसकेपछि अदालतमा मुद्दा पर्यो । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले सबै नागरिकलाई खोप उपलब्ध गराउने रटान लगाउन छाडेका छैनन् ।
दोस्रो भेरियन्ट आयदेखि शिक्षक तथा प्राध्यापकहरुले खोपको माग गरिरहेका छन् । वैकल्पिक माध्यमबाट शैक्षिक सत्र सुरु भएपनि स्थानीय तहहरु सम्भव भए साउनबाट भौतिक रुपमा कक्षा सञ्चालन गर्ने तयारी छ । तर, शिक्षकहरु कारोनाको खोप नलागाएसम्म भौतिक रुपमा कक्षा नलिने अडानमा छन् ।
कोरोनाबाट झण्डै २ सय जना शिक्षक तथा कर्मचारीको मृत्यु भएको नेपाल शिक्षक महासँघले जनाएको छ । तर सरकारी निकायसँग भने अहिलेसम्म कुनै आँकडा छैन । तीन दर्जन हाराहारीमा प्राध्यापहरुको निधन भएपनि औपचारिक तथ्याकं उपलब्ध छैन । कोरोनाकालमा राज्यले उपेक्षा गरेको प्राध्यापक तथा शिक्षकहरुको गुनासो छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार विद्यालय शिक्षकको संख्या तीन लाख १४ हजारभन्दा बढी छन् भने विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसमा अध्यापन गराउने शिक्षकको संख्या झन्डै २० हजार भन्दा बढी छ । कतिपयले स्थानीय सरकारको कार्यक्रमा खोप लगाइसकेका छन् । करिब तीन लाखको हाराहारीमा शिक्षकलाई खोप आवश्यक हुने अनुमान छ ।
त्रिभुवन विश्वविद्यालयले पनि स्वास्थ्य मन्त्रालयसँग खोपका लागि पहल गरिसकेको छ ।
शिक्षा मन्त्री रहेको बेला शैक्षिक क्षेत्रका लागि तत्कालिन स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी कहाँ पुग्नु हुने मन्त्री कृष्णगोपाल श्रेष्ठ आँफैले स्वास्थ्य मन्त्रालय सम्हाल्लेकाले पनि उहाँ माथि दबाव छ भने शैक्षिक क्षेत्र पनि आसावादी बनेको छ ।
प्रतिक्रिया दिनुहोस्