
रोमन आचार्य
काठमाडौं, असार १३ । नेपाली कांग्रेसका नेताहरु पार्टी सभापतिको दौडमा कुदिरहेको बेला महाधिवेशनको न्यूनतम सर्त मानिएको क्रियाशील सदस्यताको विवाद अझै बल्झिरहेको छ । ७७ मध्ये ७५ जिल्लामा क्रियाशील सदस्यताको किचलो कायम छ । उजुरी र गुनासोहरुको चांग छ तर, सदस्यता छानविन समितिका सदस्यहरुबीच नै विवाद समाधानमा एकमत नदेखिँदा समस्या ज्यूँका त्यूँ छ ।
साउन १२ गते वडा अधिवेशन गर्ने हो भने क्रियाशील छानविन समितिले ७ दिनभित्र सम्पूर्ण काम समेर अन्तिम सूची सभापति शेरवहादुर देउवालाई बुझाउनुपर्ने हुन्छ । तर समितिका सदस्यहरु त्यसको संभावना देख्दैनन् । समितिमा ७३ जिल्लाबाट उजुरी परेको छ । सिन्धुपाल्चोक, बारा, सप्तरी र बर्दियाले बल्ल सदस्यता इन्ट्री शूरु गरेका छन् । त्यसैले पनि तोकिएकै मितिमा सूची बुझाउने र सभापति देउवाले असार ३० गते अन्तिम सूचीमा हस्ताक्षर गर्ने संभावना कम छ ।
समितिमा सदस्यता वितरणमा अनियमितता भयो भन्ने उजुरीको चाङ्ग छ । वडाले सिफारिस गरेको नाम क्षेत्रले कटौंती गरि अनावश्यक थप गर्ने, पालीका र नगरले कटौंती गर्ने, थप गर्दै मतदाता प्रभावित गर्ने गरि तालिका पठाएको गुनासो छ । नविकरण गर्दा नाम छुटाएको भन्ने गुनसो पनि धेरै छ । नयाँ वितरण पारदर्शी नभएको भन्ने गुनासो पनि उस्तै छ ।
सुनिल थापाको नेतृत्वको राप्रपा लगायत अन्य केही दलहरु कांग्रेससँग एकीकरण भए । सोबमोजिम पार्टी समायोजन पनि गरियो । तर, समायोजन समितिले दिएको सिफारिसअनुसा सदस्यता वितरण नभएको भन्दै अहिले कांग्रेसभित्र विवाद चुलिएको छ । रमेश लेखकको नेतृत्वमा छानविन समिति छ । हो, यही समितिलाई अहिले विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिकका कार्यकर्तालाई क्रियाशील सदस्यता नविकरण गराउन हम्मे हम्मे परेको छ । समस्या समाधानका लागि मापदण्ड नै बनाउन समितिले सकेको छैन । मापदण्डबमोजिम तल्ला तहबाट सूची नआएर पनि समस्या ज्यादैं बढेको छ ।
१० लाख सदस्य पुर्याएर महाधिवेसन गर्ने योजनामा कांग्रेस छ । तर हालसम्म ८ लाख २० हजार मात्र सदस्य पुगेका छन् । बेलैमा निर्वाचन समितिले दल तथा संगठन समायोजनको काम नसक्दा समस्या जटिल भयो भने शीर्ष नेतृत्वको विवादले सदस्यता वितरणमा ढिलाइ भयो । क्रियाशील सदस्यता नै महाधिवेसन मेरुदण्ड भएकाले यसलाई प्रभावित गर्न सक्यो भने अधिवेशन कब्जा गर्न सकिन्छ र नेतृत्व हत्याउन सकिन्छ भन्ने दुराशयका कारण कांग्रेसभित्र सदस्यताको लफडा बढेको हो ।
प्रतिक्रिया दिनुहोस्