२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रकाशमान, शशांक र बिमलेन्द्रले पौडेल र सिटौलासँग छलफल गर्ने, केन्द्रीय सदस्यसँग भने शुक्रबार बैठक


0
Shares

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन र नेतृत्वकै विषयमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय गर्नुभएको छ ।

सिंह निवास चाक्सीबारीमा तीन नेताबीच भएको छलफलमा आउने शुक्रबार महामन्त्री कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय पनि गरिएको छ ।

बैठकपछि नेता सिंहले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कसको नेतृत्वमा मैदानमा जाने भन्नेबारे तीन नेताबीच छलफल भएको जानकारी दिँदै आफूहरुबीचको छलफलले कार्यकर्तामा उत्साह जागाएको दाबी पनि गर्नुभयो ।

सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी हुनुहुन्छ । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिनुहुन्छ भने सिंह र कोइराला संसथापन इतरमा हुनुहुन्छ ।

संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै हुनुहुन्छ ।

त्यसैका लागि तीन नेताबीच छलफलको शुरुवात पनि उहाँले नै गर्नुभएको थियो । पहिलो चरणमा निधिको निवासमा छलफल गर्नुभएका उहाँहरु दोस्रो पटक कोइराला निवासमा बस्नुभएको थियो ।

कांग्रेसमा महाधिवेशन नजिकिँदै गर्दा आफूनुकूलका समीकरण बनाउने र पदीय भागबण्डा गर्ने प्रयास भइरहेका छन् ।

संस्थापन पक्षमा देउवाका अतिरिक्त निधिले पनि नेतृत्वका लागि इच्छा देखाउँदा इतर पक्षमा भने कोइराला र सिंहका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइराला पनि सभापतिको दावेदार हुनुहुन्छ ।

१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका कृष्ण सिटौला र नेताहरु अर्जुनरसिंह केसी र डा.रामशरण महतको भूमिका यस महाधिवेशनमा के हुन्छ भन्नेचाहिं खुलिसकेको छैन । तीनै जनाले विभिन्न मौकामा आफूलाई सभापतिको आकांक्षी बताउने गर्नुभएको छ ।