१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामाजिक सुरक्षा कोषको विरोधमा बैंक कर्मचारीहरु, विभेद भएको आरोप


26
Shares

काठमाडौं, असार १६ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै प्रदर्शन गरेका छन् ।

बैंक तथा वित्तीय संस्थालाई दर्ता हुन कोषले आग्रह गरे पनि कर्मचारीहरु भने खाइपाई आएको सुविधा घट्ने गरी कोषमा सामेल नहुने अडानमा छन् ।

उनीहरु हालकै अवस्थामा कोषमा जाँदा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अभिसन्धि र श्रम ऐनको मर्मविपरीत हुने तर्क उनीहरुको छ ।

उता, नेपाल बैंकर्स संघले पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आबद्धताका लागि स्वैच्छिक व्यवस्था गर्न कोषलाई आग्रह गरिसकेको छ । वित्तीय क्षेत्रका कर्मचारीले सोमबारदेखि नै देशव्यापी रूपमा विरोधका कार्यक्रम गरिहेका छन् ।

यस क्रममा नबिल बैंकका कर्मचारीहरुले कार्यालय अगाडी प्रदर्शन गर्दै आफ्ना माग सम्बोधन नगर्दासम्म कोषमा नजाने अडान राखेका छन् । केन्द्रीय कार्यालयमा भइरहेको विरोधप्रति सबै शाखाहरुको समर्थन रहेको हेटौडाबाट बैंकका कर्मचारी अमृत ढकालले जानकारी दिनुभएको छ ।

नबिलका साथै एभरेष्ट, मेगा, सिद्धार्थ, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंकलगायतका कर्मचारीले संयुक्त रुपमा विज्ञप्ति नै निकालेर कोषको जाने व्यवस्थाको विरोध गरिरहेका हुन् ।

कोषमा व्यवस्था बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रका कर्मचारीका लागि लाभदायक नभएको उनीहरुको तर्क छ । कोषको व्यवस्था हालको कर्मचारी सञ्चय कोषको जस्तो पनि नभएको बरु उल्टै आफूहरूको रकममा सरकारले मनोमानी गर्न खोजेको उनीहरु बताउँछन् ।