
नुवाकोट, असार १६ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित घ्याङ्गफेदीमा प्राकृतिक चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ ।
नुवाकोटको उत्तरपूर्वी भेगको साबिक घ्याङ्गफेदी र गाउँखर्क गाउँ विकास समिति हाल दुप्चेश्वर गाउँपालिकाअन्तर्गतका उच्च भेगका केही स्थान लेकाली आलु उत्पादनका लागि प्रख्यात मानिन्छन् ।
तर, उचित संरक्षणको अभावमा स्थानीयले आफ्नो उत्पादनको उचित मूल्य नपाउँदा स्थानीय जातका आलुको जात नै मासिने डर बढेपछि गाउँपालिकाले चिस्यान केन्द्रमार्फत् कृषकले उत्पादन गरेको आलु संरक्षण गर्न लागेको हो ।

मौलिक पहिचान बोकेको लेकाली आलु उत्पादन हुने घ्याङ्गफेदीको घ्याङ्गडाँडा, सिङ्गचे सिसिफु, एर्पापानी, तालुकसरी, चेताङ्ग, घ्यावरचौर, येजु, लामपाटे तथा गाउँखर्कको कणेँनी, कुटुङ्गसाङ, घ्याङ्गको आलु संरक्षण र कृषकलाई प्रोत्साहन दिन चिस्यान केन्द्र निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।
प्राकृतिक चिस्यान केन्द्र बनेपछि उक्त भेगका मौलिक पहिचान रहेका आलु खनेर ल्याई राखिने र उपयुक्त मूल्य पाइने समयमा कृषकको स्वनिर्णयमा बिक्री गर्ने व्यवस्था मिलाइने आचार्यले जानकारी दिनुभयो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि उपभोक्ताले पनि बाह्रै महिना लेकाली आलुको स्वाद लिन पाउने छन् ।

गाउँपालिकाको २६ लाख, कृषि ज्ञान केन्द्र नुवाकोटको २० लाख र स्थानीय साझेदार स्याङतान कृषि फर्मको ६ लाखको लागतमा ५० मेट्रिक टन क्षमताको प्राकृतिक चिस्यान केन्द्र निर्माण भइरहेको आचार्यले जानकारी दिनुभयो ।
यसअघि, गाउँपालिकाले १५ मेट्रिक टन क्षमताको यस्तै चिस्यान केन्द्र सोही गाउँपालिकाको राउतबेसी मङ्गलिङ्गमा निर्माण गरिसकेको छ । जसमा विकास साझेदार सिएसएनले सहयोग गरेको थियो ।
बाह्रै महिना हिउँ पग्लेर आउने चिसो पानी र चिसो हावा ओहोरदाहोर हुने ती स्थानमा तादीको चिसो पानीलाई प्रयोग गरेर बिजुलीको प्रयोग बिनै प्राकृतिक रुपमा चिस्यान केन्द्र बनाइएको हो ।


प्रतिक्रिया दिनुहोस्