
काठमाडौं, असार १७ । एम्नेष्टी इन्टरनेशनलले नेपाललाई कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन बेलायत सरकारसमक्ष आग्रह गरेको छ ।
एम्नेष्टीका महासचिव डा. एग्नेस कलामार्डले ब्रिटेनबाट प्रकाशन हुने पत्रिकामा ब्रिटिश सरकारका नाममा एक सार्वजनिक लेख लेख्दै ब्रिटिश साम्राज्यका लागि नेपालीले पुर्याएको योगदानलाई सम्झेर भए पनि तत्काल खोप उपलब्ध गराउनुपर्ने दायित्व रहेको उल्लेख गर्नुभएको हो ।
एकातिर धनी मुलुकहरुले ठूलो मात्रामा खोप थुपार्ने र अर्कातिर खोप नपाएरै मानिसहरु मर्नुपर्ने अवस्था अक्षम्य हुने भन्दै एम्नेष्टीका महासचिव कलामार्डले १४ लाख नेपालीको जीवन रक्षाका लागि तुरुन्त खोप पठाएर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई उदाहरण पेश गर्न अपील गर्नुभएको छ ।
भारतको जस्तो दूर्भाग्यपूर्ण अवस्थामा पुग्नबाट नेपाललाई जोगाउन विश्वसमक्ष एक साताको समय रहेकोमा सचेत गराउँदै डा. कलामार्डले लेख्नुभएको छ, ‘मार्चको मध्यमा कोभिड–१९ को अष्ट्राजेनेका खोप लगाएका नेपालको ६५ वर्षमाथिका १४ लाख मानिसल दोस्रो डोज खोप नपाउँदा १६ औं हप्तासम्म कुर्न विवश भएका छन् । जसलाई ५ जुलाईभन्दा पहिले खोप लगाइसक्नुपर्ने छ । कतिपयलाई भने जूनको अन्तिमसम्ममै दिइसक्नुपर्ने छ । तर नेपालसँग खोप छैन ।’
दोस्रो डोज समयमा लगाउन नपाउनुको दूरगामी परिणाम आउने चेतावनी दिँदै उहाँले यसले पहिलेदेखि नै लडखडाइरहेको नेपालको स्वास्थ्य प्रणाली झन् कमजोर हुन जाने र लाखौं व्यक्तिको जीवन दाउमा लाग्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
यस्तोमा सहयोग गर्ने शक्ति अन्तर्राष्ट्रिय समुदायसँग रहेको भन्दै एम्नेष्टीले त्यो क्षमता बेलायतसँग रहेको र नेपालका प्रधानमन्त्रीले पनि बेलायतसँग सबैभन्दा पुरानो मित्रका हैसियतले सहयोग याचना गरिसकेको उल्लेख गरेको छ ।
नेपाल–ब्रिटेनबीच ऐतिहासिक सम्बन्ध रहेको, नेपालको ठूलो दातृ मुलुक बेलायतमै ठूलो संख्यामा नेपाली बसिरहेको र अहिले पनि नेपाली गोरखा ब्रिटिश सेनामा रहेको तथ्य सम्झाउँदै एम्नेष्टीले सात करोडभन्दा बढी डोज खोप सञ्चय गरिराखेको बेलायतलाई पुरानो र अफ्ठ्यारोमा परेको मित्रलाई मानवीय सहयोग गर्न आह्वान गरेको हो ।
नेपालमा जम्मा २.४ प्रतिशतले खोप पाएको जबकी बेलायतमा ४५ प्रतिशतले खोप लगाइसकेको तथ्य स्मरण गराउँदै एम्नेष्टीले नेपालको सहयोगका लागि आफ्नै देशका सांसदहरुले गरेको मागलाई पनि नबिर्सन भनेको छ ।
एकातिर धनी मुलुकहरुले ठूलो मात्रामा खोप थुपार्ने र अर्कातिर खोप नपाएरै मानिसहरु मर्नुपर्ने अवस्था अक्षम्य हुने भन्दै एम्नेष्टीका महासचिव कलामार्डले १४ लाख नेपालीको जीवन रक्षाका लागि तुरुन्त खोप पठाएर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई उदाहरण पेश गर्न अपील गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्