१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँचथरमा कोरोनाको संक्रमणदर ५० प्रतिशत कायमै, मास्क बिना धमाधम रोपाइँ


0
Shares

जितेन्द्र भण्डारी
पाँचथर, असार १८ । कोरोना महामारीकाबीच पनि पाँचथरमा धमाधम रोपाइँ भई रहेको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि यहाँका किसानलाई असारे चटारो छ ।

कोरोनाको संक्रमणदर अहिले पनि पाँचथरमा ५० प्रतिशत कायमै छ । कोरोनाकै कारण अहिले पनि हप्तामा ३ देखि ४ जना कोरोना संक्रमितको मृत्यु भई रहेको छ । यस्तो महामारीको समय भएपनि कृषकहरुलाई भने असारे चटारोले च्यापेको छ । अहिले यहाँका कृषकहरुलाई खेतमा धान रोप्न भ्याइनभ्याई छ । धान नरोपौ भने भोलि खानाको लागि समस्या छ, त्यहीँ कारणले रोप्नै पर्छ । मानिसहरुको जमघट नहुनु भन्ने कुरा छ तर हुन वाध्य छौ, अब मास्क लगाउनु भनिएको छ, मास्कको पनि उपलब्धता छैन, वाध्य भएर जोखिम मोल्दै भएपनि धान रोप्न वाध्य रहेको फिदिमका कृषक भोला श्रेष्ठ बताउनुहुन्छ ।

समयमै मनसुन सक्रिय भएको हुँदा अहिले जिल्लामा २७ प्रतिशत जति धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । गत वर्ष यो समयमा २० प्रतिशतको हाराहारीमा धान रोपिएपनि यस वर्ष समयमै मनसुन सक्रिय भएको हुँदा अहिले सम्ममा २७ प्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो ।

जिल्लामा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो बर्ष भने कृषकहरुलाई धान रोपाइँमा खासै समस्या देखिएको छैन् । रासायनिक मलको समस्या देखिएपनि अहिले भने मलको उपलब्धता रहेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

सबै कृषकहरुसँग मास्क उपलब्धता छैन्, तर कोरोनाको जोखिम बहन गर्दे भएपनि जमघटका बाबुजुत धान खेती गर्नुपरेको फिदिम १ का कृषक कृति लामिछाने बताउनुहुन्छ ।

रासायनिक मल कृषकहरुलाई समयमै उपलब्ध हुन सकेको खण्डमा र धानबालीमा रोग किराको प्रकोप कम भएमा गत वर्षको तुलनामा ५ देखि ७ प्रतिशत धान उत्पादन वढ्न सक्ने कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख विष्ट बताउनुहुन्छ । कोरोना महामारीको वीचमा पनि यस वर्ष समयमै मनसुन सक्रिय भएको हुँदा कृषकहरुलाई धान रोपाईमा सहज भएको छ । समयमै कषकहरुले मल पाए र रोग किराको प्रकोप देखिएन भने धान उत्पादन समेत बढ्न सक्छ ।