
सुरेन्द्र भण्डारी
झापा, असार १८ । वर्षायाम शुरु भएसँगै दक्षिणी झापाका बासिन्दा बाढीबाट प्रताडित हुने गरेका छन् । झापाको कचनकवल, बाह्रदशी गौरीगंज र झापा गाउँपालिकाका बासिन्दा वर्षायामसँगै हरेक वर्ष त्रासमा बाँच्न बिवस छन् ।
यो वर्षपनि समयमा नै मनसुन सुरु भएको छ । मनसुन शुरु भएसँगै समयमा नै खेती पाती गर्न पाइने भन्दै एक थरी कृषक खुशी छन् भने अर्का तर्फ खोलाको तटीय क्षेत्रमा बसोवास गर्ने र खेती गर्ने कृषकहरु भने त्रसित अवस्थामा छन् । विशेष गरी झापामा रहेका तीन दर्जन खोला र नदी मध्ये पनि वर्षायाममा आठ वटा नदीमा आउने बढीले बढी क्षाति पु¥याउदै आएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बर्षेनी बर्षायाममा आउने बाढीका कारण सयौ घर बिस्थापित हुने र खेतीयोग्य जमिन कटान हुने क्रम नरोकीएको बताउनुभयो ।
बाढीका कारण सयौं विगाह खेती योग्य जमिन बगरमा परिणत हुने गरेको छ भने अनाहकमा धेरै नागरिकले ज्यान समेत गुमाउँदै आएका छन् । वर्षायाम शुरु भएसँगै झापामा बाढीबाट आम नागरिकलाई जोगाउन विपद् प्रतिकात्मक कार्ययोजना तयार गरिए पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन् ।
त्यसो त बाढी प्रभावितहरुका लागि उद्धार तथा राहतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित नेपाल रेडक्रस सोसाइटीले हरेक वर्ष महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सिमित श्रोत र साधनकाबीच पनि नेपाल प्रहरीले बाढी प्रभावितहरुलाई उद्धार र व्यवस्थापन कार्यमा सहयोग गर्न तत्पर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो । निरन्तर बर्षा भएका कारण थप क्षति हुन नदिन उद्धार र राहतको लागि तयारी अवस्थमा रहेको उहाँको भनाई छ ।
विशेष गरी झापाका कन्काई, बिरिङ, मेची, रतुवा, अन्धुवा, टाङ्टिङ, किस्ने लगायतका खोला तथा नदीमा आएको वाढीका कारण बर्षेनि नदी आसपासका बस्ती डुवानमा पर्दै आएका छन् । बाढीकै कारण हरेक वर्ष धेरैले अकालमा ज्यान गुमाउँदै आएका छन् । वर्षेनि आउने बाढीबाट नागरिकको जीउ धनको सुरक्षाका लागि नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकको उचित व्यस्थापन गर्दै खोला र नदीमा बाध पक्की बाध्न जरुरी देखिन्छ । तर, बर्षामा बाढीको निरीक्षण गर्ने र बाध बाध्ने आश्वासन दिने तर, हिउँदमा बिर्षने बानीले यहाँको समस्या ज्यूँकात्यू रहेको छ ।
प्रतिक्रिया दिनुहोस्